काठमाडौँ, ९ असार । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनीतिक प्रतिवाद गर्ने घोषणा गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा विष्णु पौडेललाई सोमबार साँझ सुर्खेतबाट पक्राउ गरिएको जनाइएको छ। पक्राउ लगत्तै एमालेले विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको हो।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमको रूपमा चित्रण गरिएको छ।
एमालेले यसलाई सस्तो लोकप्रियता हासिल गर्ने प्रयास र ‘स्टण्ट’ भएको समेत आरोप लगाएको छ।विज्ञप्तिमा वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल रोक्न चेतावनी दिइएको छ।
त्यस्तै, एमाले महासचिव शङ्कर पोखरेलले पनि विष्णु पौडेलको पक्राउ न्यायिक प्रक्रियाको मर्मविपरीत भएको दाबी गरेका छन्।
