भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

पश्चिमी न्यून चापीय प्रणाली पुनः सक्रिय, वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यून चापीय प्रणाली पुनः सक्रिय, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १९ माघ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बन्दै मौसम बदली गराउने अवस्थामा पुगेको छ । एक हप्ता अघि वर्षा र हिमपातपछि खुलेको मौसम पुनः बिग्रिन लागेको हो ।

गत मंगलबार र बुधबार वर्षा तथा हिमपातका कारण कोशी र मधेशबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएको थियो । त्यसयता खुलेको मौसम एक सातामै फेरि सक्रिय वर्षा गराउने प्रणालीका कारण बदलिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजदेखि सुदूरपश्चिम क्षेत्रमा उक्त प्रणालीको हल्का असर देखिन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार सोमबारदेखि यो प्रणाली पश्चिम क्षेत्रका उच्च हिमाली तथा पहाडी भूभागमा फैलिँदै जानेछ भने मङ्गलबार मध्य नेपालसम्म विस्तार हुनेछ ।

प्रभावित क्षेत्रमा पूर्ण बदली हुने र बाँकी क्षेत्रमा आंशिक बदली भई चिसो बढ्ने अनुमान गरिएको छ । पश्चिम नेपालमा अहिले नै चिसो र हिमपात भइरहेको अवस्थामा पुनः सक्रिय प्रणालीले मध्यमसम्मको वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य भूभागमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा मङ्गलबार राति छिटपुट वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

सोमबार तराईका केही स्थानमा हुस्सु–कुहिरो लाग्नेछ भने हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी तथा तराई भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ । सोमबार राति तराईका थोरै स्थानमा हुस्सु लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बदली रहने पूर्वानुमान छ ।