२३ साउन २०७७ काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १०६ कोरोना संक्रमित थपिएका छन् । यो हालसम्मकै उच्च संख्या हो। काठमाडौंमा मात्र शुक्रबार ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित देखिएका छन् । आजको सहित काठमाडौंमा कूल संक्रमितको संख्या ९८२ पुगेको छ ।
काठमाडौंमा ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ संक्रमित पुष्टि भएका छन् । कूल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । भने ४२५ जना संक्रमित निको भएका छन्। मृत्यु हुने संक्रमितको संख्या ७० पुगेको छ ।
अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूसहितको आजको बैठकले अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोले यस्तो निर्णय गरिएको हो।
भदौ ८ गते सम्म प्रशासनिक कार्य सबै बन्द गरिएको छ । यसअघि गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि घना बस्तीमा कोरोना भाइरसको संक्रमण बढी रहेकाले अस्पतालमा बेड अभाव हुन सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरिसकेको छ।
