भर्खरै : Sorry, your browser does not support inline SVG.

सगरमाथा क्षेत्रमा तीन दिनदेखि हवाई उडान ठप्प

सगरमाथा क्षेत्रमा तीन दिनदेखि हवाई उडान ठप्प

मुख्य बुँदा 

लुक्ला विमानस्थलको हवाई सेवा तीन दिनदेखि ठप्प।

झन्डै १५ सय पर्यटक लुक्ला, १२ सय पर्यटक नाम्चेमै फसे।

होटल र गेस्टहाउसहरू भरिएका, केही पाहुनालाई लबीमै बस्नुपर्ने अवस्था।

स्थलमार्ग पनि पहिरो र हिलोका कारण अवरुद्ध।

मौसम विभागको अनुसार अझै दुई–तीन दिन वर्षा र हिमपातको सम्भावना।

सोलुखुम्बु, १५ कार्तिक । प्रतिकूल मौसमका कारण सगरमाथा प्रवेशद्वार लुक्लामा रहेको तेञ्जिङ–हिलारी विमानस्थलबाट हुने उडान तीन दिनदेखि ठप्प छ ।

लगातार सिमसिमे वर्षा र बाक्लो कुहिरोका कारण विमान र हेलिकप्टर दुवै उड्न नसकेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटिसी) नवराज कटुवालले बताउनुभयो । सामान्यतया दैनिक ६० उडान हुने लुक्लामा अहिले एकपटक पनि उडान भएको छैन । हवाई सेवा ठप्प हुँदा झण्डै १५ सय पर्यटक लुक्लामै रोकिएका छन् ।

होटल र गेस्टहाउसहरू सबै भरिएका छन्, नयाँ पाहुनालाई कोठा पाउन कठिन भएको छ । कसैलाई त होटलको लबीमै बसालिएको स्थानीय तोयाकुमार श्रेष्ठले बताउनुभयो । नाम्चे बजारमा पनि झन्डै १२ सय पर्यटक रोकिएका छन् । लगातारको झरी र माथिल्लो क्षेत्रमा परेको हिउँका कारण नाम्चेका होटल भरिभराउ छन् । चार दिनदेखि घाम नलाग्दा पर्यटकहरू पुस्तक पढ्दै र सङ्गीत सुन्दै समय बिताइरहेका छन् ।

स्थलमार्ग हुँदै सल्लेरी भएर काठमाण्डौ फर्किने प्रयास गरे पनि बाटो पनि सहज छैन । सोलुखुम्बु–काठमाण्डौ सडकखण्डमा पहिरो र हिलोका कारण आवागमन अवरुद्ध छ । काभ्रे र सिन्धुली क्षेत्रमा ठूलो वर्षाले गाडी घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पनि पर्ने क्रम अझै रोकिएको छैन । अर्का दुई–तीन दिन अझै वर्षा र हिमपात हुने सम्भावना छ । त्यसपछि मात्र मौसम बिस्तारै खुल्ने अनुमान गरिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.