भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुरमा शैक्षिक ऋण प्राप्त विद्यार्थीहरूको भेला, अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुरमा शैक्षिक ऋण प्राप्त विद्यार्थीहरूको भेला, अभिमुखीकरण कार्यक्रम सम्पन्न

मुख्य बुँदा 

भक्तपुर नगरपालिकाले १७ करोड शैक्षिक ऋण र ४.५ करोड कलेज खर्च गरिरहेको छ।

शैक्षिक ऋणबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले क्रमशः ऋण चुक्ता गर्दै आएका छन्।

कार्यक्रममा नयाँ पुस्तालाई अग्रजप्रति सम्मान र सामाजिक उत्तरदायित्वबोध सिकाउने कुरामा जोड।

जेनजी पुस्तामा आलोचनात्मक दृष्टिकोण विकास र राजनैतिक सचेतता आवश्यक।

विद्यार्थी र अभिभावकहरूले नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन्।

भक्तपुर, कार्तिक १५ गते । आर्थिक अवस्था कमजोर भएका परिवारका सन्तानको उच्च शिक्षाका लागि भक्तपुर नगरपालिका अभिभावक बन्छ। नगरपालिकाले नगरवासी विद्यार्थीलाई उच्च शिक्षाका लागि १७ करोड रुपैयाँ शैक्षिक ऋण र नगरपालिका अन्तर्गतका कलेजहरूमा वार्षिक साढे ४ करोड रुपैयाँ खर्च गर्दै आएको छ।

नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि नगरपालिकाले सदैव अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार आयोजित नयाँ पुस्ताका विद्यार्थीहरूको भेलामा उक्त धारणा व्यक्त गर्नुभयो। वडाअधिकार कार्यालय ९ नं. वडाको आयोजनामा भएको कार्यक्रममा शैक्षिक ऋण प्राप्त विद्यार्थी र अभिभावकहरूलाई मार्गनिर्देशन प्रदान गरिएको थियो।

प्रमुख प्रजापतिले शैक्षिक ऋणबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले क्रमशः ऋण चुक्ता गरिरहेको जानकारी दिनुभयो। हालसम्म करिब साढे ३ करोड रुपैयाँ फिर्ता भइसकेको छ। उहाँले भक्तपुरका जनता इमान्दार र अनुशासित रहेको सन्देश देशभरि गइरहेको उल्लेख गर्दै अग्रज किसान कार्यकर्ताको मेहनतले नयाँ पुस्ताले शिक्षा र स्वास्थ्य सेवा प्राप्त गरेको बताउनुभयो।

प्रमुख प्रजापतिले नयाँ पुस्तालाई अग्रजप्रति सम्मान गर्ने संस्कारसहितको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै, समाजवादी व्यवस्थामा देश र समाजप्रति जिम्मेवार र इमान्दार बन्नुपर्ने कुरा औँल्याउनुभयो। कार्यक्रममा वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्वले नगरपालिकाको शैक्षिक ऋण प्रक्रिया र नगरवासी करबाट उठेको रकम विद्यार्थीहरूले ऋण स्वरूप पाएको जानकारी दिनुभयो।

स्थानीय विद्यार्थी अगुवा सुजी हेङ्गवजूले जेनजी पुस्तामा आलोचनात्मक दृष्टिकोण विकास हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आन्दोलनमा युवाको बलिदान र सार्वजनिक सम्पत्तिमा क्षति हुने समस्या औँल्याउँदै, राजनैतिक सचेतता र संगठित शक्ति आवश्यक रहेको बताउनुभयाे ।

कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैया सुजखू र वडा सदस्य इन्द्रबहादुर प्याथले पनि बोल्नुभयो। सहभागी विद्यार्थी र अभिभावकहरूले शैक्षिक ऋणबाट उच्च शिक्षा हासिल गर्न पाएको अवसरमा धन्यवाद व्यक्त गर्दै, नगरपालिकाका लागि आवश्यकता अनुसार योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वबोध गराउने गतिविधिहरू निरन्तर गर्नु पर्नेमा जोड दिएका थिए।

 


Thali Mobile Pvt.Ltd.