हेटौडा । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागको स्वीकृति अनुसार राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कराते प्रशिक्षक एवम् स्वयम्सेवक प्रशिक्षकको ३ दिने एड्भान्स कराते टेक्निकल सेमिनार हेटौंडामा सम्पन्न भएको छ ।
कराते खेलको काता, कुमिते र रेफ्री सम्बन्धी परिवर्तित नियमहरुको विषयमा जानकारी गराउने मूल उद्देश्य बोकेर प्रदेश टेक्निकल कमिटिको अयोजना गरेको उक्त टेक्निकल सेमिनारमा प्रदेश नं. ३ र ४ का १ सय ५० जना कराते प्रशिक्षकको सहभागिता रहेको थियो ।
सेमिनारमा प्रशिक्षकको स्तरवृद्धि तथा पुनर्ताजगीका लागि काता, कुमिते, रेफ्री र स्परोर्टस् साइन्स् सम्बन्धी कक्षाहरु संचालन गरिएको थियो । नेपाल कराते महासंघका केन्द्रीय उपाध्यक्ष पुरेन्द्र विक्रम लाखे र नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेतीले काता र कुमिते सम्बन्धि कक्षाहरु संचालन गरेका थिए।
परिवर्तित रेफ्री नियमको विषयमा कराँतेका बरिष्ठ प्रशिक्षक एवम् अन्तराष्ट्रिय निर्णायक राम लामा र साउथ एसियन कराते महासंघका रेफ्री कमिशन सदस्य एवम् करातेका एसियन रेफ्री विसन मोतेले महत्वकासाथ कक्षा संचालन गरेका थिए भने स्पोर्टस् साइन्स्मा मिठ्ठु गुप्ताले प्रशिक्षण दिएका थिए।
एड्भान्स टेक्निकल सेमिनार सम्बन्धी जानकारी गराउदै नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदन कुमार उप्रेतीले १६ वर्ष पछि नेपालमा यस्तो सेमिनार आयोजना भएकोले कराते प्रशिक्षक उत्साहित भइ सेमिनारमा सहभागि भएको बताए ।
अभियानकै रुपमा देश भरि सेमिनार संचालन गर्नुपर्ने भन्दै प्रमुख प्रशिक्षक उप्रेतीले टेक्निकल सेमिनार प्रदेश नं. ५,६ र ७ का लागि यहि १७, १८ र १९ गते कोहलपुरमा आयोजना गरिने जानकारी दिए।
