काठमाडौँ, ८ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिएसँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई भव्य रूपमा सजाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगितालाई थप व्यवस्थित र आकर्षक बनाउन मुख्य पिचको स्तरोन्नति, मैदानको बाहिरी क्षेत्र व्यवस्थापन, प्यारापिट विस्तार, विशिष्ट व्यक्तिका लागि कक्ष, फ्लडलाइट तथा डिजिटल टिकट प्रणालीको तयारी गरिएको छ । खेल प्रसारणका लागि आवश्यक पूर्वाधारसमेत तयार पारिएको छ ।
त्यस्तै, खेलाडीका लागि ड्रेसिङ रुम, डगआउट र सञ्चारकर्मीका लागि प्रेस बक्सलाई व्यवस्थित बनाइएको छ । यसपटक प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त हुनुका साथै निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) पनि लागू हुने जनाइएको छ ।
डीआरएसको प्रयोगले खेलका विवादित निर्णय पुनरावलोकन गर्न सहयोग पुग्नेछ । यसबाट खेलको निष्पक्षता बढ्ने र खेलाडी तथा दर्शकले थप रोमाञ्चक अनुभव गर्ने अपेक्षा गरिएको छ । फ्रेन्चाइज टोलीले यस संस्करणमा बढीमा आठ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।
एनपीएलका अघिल्ला दुई संस्करण सफल भएपछि प्रतियोगिताप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । प्यारापिटमा सिट थपिए पनि दर्शकको बढ्दो चाप आयोजकका लागि चुनौती बन्न सक्ने देखिएको छ । मैदानको पूर्वाधार सुधार र नयाँ प्रविधिको प्रयोगसँगै यसपटकको एनपीएल थप भव्य र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
