भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

फर्केर हेर्दा विसं २०८१ : ६२ स्वदेशी र ८४ विदेशी चलचित्र प्रदर्शन, कारोबार १ अर्ब ८५ करोड

फर्केर हेर्दा विसं २०८१ : ६२ स्वदेशी र ८४ विदेशी चलचित्र प्रदर्शन, कारोबार १ अर्ब ८५ करोड

काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को कीर्तिमानी व्यापार गरेर इतिहास रच्यो । यो तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’मा दर्ता छ, जसले २०८१ लाई नेपाली चलचित्रको इतिहासमा अविस्मरणीय बनाएको छ ।

यो वर्षको अन्तिम चलचित्रका रूपमा ‘पिताम्बर’ र ‘कर्मा’ चैत २९ गतेदेखि प्रदर्शनमा आए । बक्स अफिसको तथ्याङ्कअनुसार २०८१ मा ६२ स्वदेशी र ८४ विदेशी चलचित्र प्रदर्शन भए । नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार यो वर्ष चलचित्रका दर्शक उल्लेख्य रूपमा बढे । उनले भने, “दसैँ र तिहारमा प्रदर्शन भएका चलचित्रले दर्शकलाई हलसम्म तान्न सफल भए । सपरिवार चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्यो । पारिवारिक चलचित्रले दर्शकको मन जित्न महत्त्वपूर्ण भूमिका खेल्यो ।”

महर्जनले यो वर्ष प्रदर्शकहरूले १८ घण्टाभन्दा बढी काम गरेको र वर्षको अन्तिममा प्रदर्शन भएका चलचित्रले राम्रो सुरुवात गरेको बताए । उनले आगामी वर्ष २०८२ मा पनि चलचित्र निर्माण र व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

निर्देशक पुर्नेन्दु झाले २०८१ को सफलताले नयाँ र पुराना चलचित्रकर्मीहरूलाई उत्साहित बनाएको बताए । “यो वर्षको व्यावसायिक सफलताले नयाँ दर्शकलाई आकर्षित गर्न सकियो भने २०८२ मा नेपाली चलचित्रले थप उचाइ लिनेछ,” उनले भने । झाले आगामी वर्ष बजारको आकार अझ बढाउनुपर्ने चुनौती रहेको उल्लेख गरे । चलचित्रकर्मीहरूले २०८२ मा करिब ८० चलचित्र प्रदर्शन हुने अनुमान गरेका छन् ।

बक्स अफिस तथ्याङ्कअनुसार ५९ नेपाली चलचित्रले १ अर्ब ८० करोडको व्यापार गरेका छन् । बाँकी तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’सहित अन्य प्रदर्शनरत चलचित्रको व्यापार करिब ५ करोड भएको अनुमान छ । यस आधारमा नेपाली चलचित्र बजारको कुल कारोबार १ अर्ब ८५ करोडको हाराहारीमा पुगेको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.