भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट क्षमतामा मात्र ३० मेगावाट उत्पादन

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ६९ मेगावाट क्षमतामा मात्र ३० मेगावाट उत्पादन

तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ ।

केन्द्रका प्रमुख इन्जिनीयर पशुपति गौतमका अनुसार लामो समयदेखिको सुख्खायाम र नदीमा पानीको बहाव कम हुँदा उत्पादनमा कमी आएको हो । “यस वर्ष हिउँदमा पानी परेन, लामो खडेरीले विद्युत् उत्पादन ४० प्रतिशतमा झरेको छ,” गौतमले भने । उनले सामान्य अवस्थामा ४० मेगावाट उत्पादन हुनुपर्नेमा हाल ३१ मेगावाट हाराहारीमा मात्र उत्पादन भएको बताए ।

यो केन्द्रमा २३–२३ मेगावाट क्षमताका तीनवटा टर्बाइन छन्, जुन सन् १९८९ मा निर्माण सम्पन्न भएको थियो । यहाँबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौंको स्युचाटार स्टेशन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ ।

गौतमले सुख्खायामका कारण नदीमा मिसिने खोला, खोल्सी र झरनाको पानी सुकेको वा घटेकोले उत्पादनमा असर परेको बताए । “वैशाखबाट घाम चर्को भएपछि हिउँ पग्लने र वर्षा बढ्ने हुँदा उत्पादन वृद्धि हुने अपेक्षा छ,” उनले थपे ।

मर्स्याङ्दी नदी हिमालबाट बग्ने भएकाले चिसो मौसममा हिउँ कम पग्लिन्छ र सहायक खोला–नदीहरूमा पानीको बहाव घट्छ, जसले विद्युत् उत्पादनमा कमी ल्याउँछ । सुख्खा मौसममा उत्पादन घट्दा नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.