भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

बाजुरामा १ हजार ८०६ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप

बाजुरामा १ हजार ८०६ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप

बाजुरा, २० माघ । बाजुरा जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध १ हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिनेछ ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काका अनुसार जिल्लामा कक्षा ६ मा अध्ययनरत १ हजार ७८१ जना तथा विद्यालय बाहिर रहेका २५ जना किशोरीलाई खोप दिइनेछ । विद्यालय बाहिर रहेका किशोरीमध्ये बुढीगङ्गा गाउँपालिकामा १६, बडिमालिका नगरपालिकामा ६ र त्रिवेणी नगरपालिकामा १ जना रहेका छन् ।

गत वर्ष जिल्लामा अभियानकै रूपमा ७ हजारभन्दा बढी किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइएको थियो । यस वर्ष भने नियमित खोपअन्तर्गत विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका किशोरीलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका नौवटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा उपलब्ध गराइनेछ भने स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।

खोप अभियान माघ २७ गते गौमुल गाउँपालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिकाबाट सुरु हुनेछ । माघ २८ गतेदेखि स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिकामा तथा माघ २९ गतेदेखि हिमाली गाउँपालिकामा खोप अभियान सञ्चालन हुने निमित्त प्रमुख खड्काले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार किशोरीहरूको पाठेघर मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्त प्रभावकारी मानिएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको हो ।

गत वर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीले पाठेघरको क्यान्सरविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.