भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

दाङमा फोहोर प्लास्टिकबाट ‘पोलिस्यान्ड टायल’ उत्पादन सुरु, नेपालमै पहिलो उद्योग

दाङमा फोहोर प्लास्टिकबाट ‘पोलिस्यान्ड टायल’ उत्पादन सुरु, नेपालमै पहिलो उद्योग

मुख्य बुँदा

दाङमा फोहोर प्लास्टिकबाट टायल उत्पादन सुरु
युरोपियन प्रविधिमा आधारित नेपालकै पहिलो उद्योग
प्लास्टिक रिसाइकल गरी पोलिस्यान्ड टायल उत्पादन
करिब ४ करोड रुपैयाँ लगानी
दैनिक ६ सय केजी वेस्ट प्लास्टिक खपत

 दैनिक करिब ४५० फिट टायल उत्पादन
 २२ जनालाई रोजगारी
स्थानीय सरकारबाट सहयोग नपाएको गुनासो

दाङ, २० माघ । दाङ जिल्लामा पहिलोपटक फोहोर प्लास्टिकलाई प्रशोधन गरी ‘पोलिस्यान्ड टायल’ उत्पादन सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–६ राजापुरमा विगत १२ वर्षदेखि जिप्सन सिमेन्ट टायल उद्योग सञ्चालन गर्दै आएका उद्यमी निरज देवकोटाले फोहोर प्लास्टिक र बालुवाबाट टायल उत्पादन गर्ने उद्योग करिब दुई महिनादेखि सञ्चालनमा ल्याउनुभएको हो ।

युरोपियन प्रविधिमा आधारित यो उद्योग नेपालकै पहिलो भएको देवकोटाले बताउनुभयो । उहाँका अनुसार खेर गइरहेका प्लास्टिकजन्य फोहोरलाई रिसाइकल गरी साना चिप्स बनाइन्छ र ती चिप्सलाई बालुवासँग मिसाएर टिकाउ तथा वातावरणमैत्री टायल उत्पादन गरिन्छ । “खेर गइरहेको फोहोरलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी वातावरणमैत्री र दीगो टायल उत्पादन गरिरहेका छौँ,” देवकोटाले भन्नुभयो, “यसले फोहोर व्यवस्थापन सम्भव छ भन्ने व्यवहारिक उदाहरण पनि प्रस्तुत गरेको छ।”

उहाँले यस प्रविधिबारे करिब १० वर्षदेखि अध्ययन तथा अनुसन्धान गर्दै आएको र युरोपियन कम्पनीसँग समन्वय गरी आवश्यक उपकरण आयात गरेर उद्योग सञ्चालन गरिएको जानकारी दिनुभयो । हाल उत्पादन भएका पोलिस्यान्ड टायल दाङका विभिन्न स्थानसँगै बुटवल र पोखरासम्म आपूर्ति भइरहेको उहाँको भनाइ छ ।

देवकोटाका अनुसार पोलिस्यान्ड टायल घरको छाना छाउन, आँगनमा बिछ्याउन, पार्किङ क्षेत्र तथा भान्सामा प्रयोग गर्न सकिन्छ । “यो टायलको आयु करिब एक सय वर्षसम्म रहने वारेन्टी छ,” उहाँले भन्नुभयो, “एकपटक प्रयोग गरेपछि सजिलै अर्को स्थानमा सार्न मिल्ने, कोठा नतातिने, शीत नचुहिने र आगोले नजल्ने यसको प्रमुख विशेषता हुन्।”

उद्योग सञ्चालनमा हालसम्म करिब ४ करोड रुपैयाँ लगानी भइसकेको छ । उद्योगका लागि आवश्यक प्लास्टिकजन्य कच्चा पदार्थ हाल बाहिरका जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । भविष्यमा कच्चा पदार्थ उत्पादनका लागि छुट्टै उद्योग सञ्चालन गर्ने तयारी पनि भइरहेको उहाँको भनाइ छ ।

स्थानीय स्तरमै कच्चा पदार्थ उपलब्ध गराउन आग्रह गर्दा स्थानीय सरकारले बेवास्ता गरेको गुनासो पनि देवकोटाले गर्नुभयो । “फोहोर व्यवस्थापनमा सहयोग माग्दै तुलसीपुर उपमहानगरपालिकामा धेरै पटक पुगेँ, तर सुनुवाइ भएन,” उहाँले भन्नुभयो, “यदि स्थानीय सरकारले प्लास्टिकजन्य फोहोर उपलब्ध गराए फोहोर व्यवस्थापनको समस्या पनि केही हदसम्म कम हुन सक्छ।”

हाल उद्योगमा दैनिक करिब ६ सय केजी वेस्ट प्लास्टिक खपत हुँदै आएको छ भने दैनिक करिब ४५० फिट टायल उत्पादन भइरहेको छ । सिमेन्ट टायल उद्योगसहित दुवै उद्योगमा गरी हाल २२ जनाले रोजगारी पाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.