हिउँदयाम सुरु भएसँगै भोजपुरमा डढेलो नियन्त्रण अभियान, २१६ थान सामग्री हस्तान्तरण

हिउँदयाम सुरु भएसँगै भोजपुरमा डढेलो नियन्त्रण अभियान, २१६ थान सामग्री हस्तान्तरण

मुख्य बुँदा

हिउँदयामसँगै डढेलो नियन्त्रण अभियान सुरु

११ प्रकारका २१६ थान सामग्री हस्तान्तरण

नौवटै स्थानीय तहका क्षेत्र उच्च जोखिममा

जनचेतना र निगरानी कार्यक्रम तीव्र

सर्वसाधारणलाई आगो नबाल्न आग्रह

भोजपुर, ५ फागुन । हिउँदयाम सुरु भएसँगै सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि डिभिजन वन कार्यालय भोजपुरले आवश्यक सामग्री हस्तान्तरण गर्दै जिल्लाव्यापी सचेतनामूलक अभियान सुरु गरेको छ ।

बढ्दो सुक्खापन र तापक्रम वृद्धिले आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँका अनुसार डढेलो जोखिम न्यूनीकरण तथा सर्प उद्धारसम्बन्धी ११ प्रकारका २१६ थान सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण समितिलाई हस्तान्तरण गरिएको छ ।

अभियानका रूपमा कार्यक्रम अघि बढाउँदै कार्यालयले जोखिम क्षेत्रहरूमा विशेष सतर्कता अपनाएको जनाएको छ । कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । वन क्षेत्र आसपास हुने मानव गतिविधि, सुक्खा घाँस–दाउरा र बढ्दो गर्मीलाई डढेलोका प्रमुख कारणका रूपमा औँल्याइएको छ ।

पौवादुङमा गाउँपालिकाको ठूलोदुम्मा, सानोदुम्मा, बास्तिम, श्यामशिला र औलिया क्षेत्र उच्च जोखिममा छन् । हतुवागढी गाउँपालिकाअन्तर्गत रानीवास, होम्ताङ (साविक वडा नं ५ र ६), पालोपानी, हसनपुर–भालेडाँडा, खैराङ र डाँडाबर्क जोखिम सूचीमा सूचीकृत छन् । रामप्रसादराई गाउँपालिकाका मानेभञ्ज्याङ, कावा दोभान, सीतेडाँडा–मुलरेडाँडा–चिलाउनेटार, बेहेरे–बडहरे, सल्लेरी, कटुन्जे र जलापदेवी सल्लेरी क्षेत्रलाई पनि उच्च जोखिमयुक्त मानिएको छ ।

त्यसैगरी, अरुण गाउँपालिकाको जरायोटार, सिक्रेटार, याकु, र्याङ, याङपाङ र चम्पे (तीनतले) क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । भोजपुर नगरपालिकाका पारपानी, टक्सार, आम्तेक, पालुवा, हेलौछा, दाँवा र राममाटे क्षेत्र पनि जोखिममा परेका छन् ।

आमचोक गाउँपालिकाको पाङ्चा, धारापानी–सेतेगरगरे–कार्कीछाप, फेदी–ठूले वन, दुम्माना–पाथीभरा र देवानटार क्षेत्र संवेदनशील मानिएको छ । टेम्केमैयुङ गाउँपालिकाअन्तर्गत गोगने (सिङ्गेल खोला क्षेत्र), कोट (सिङ्गेल दोभान क्षेत्र), खाल्डे र केराबारी जोखिममा छन् ।

षडानन्द नगरपालिकाका देउराली–झ्यापोखरी, दिङ्ला, चिउरीबोटे, नेपालेडाँडा, कुदाकाउले र बैदारभञ्ज्याङ क्षेत्रलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । साथै साल्पासिलिछो गाउँपालिकाको कुलुङ, चौकीडाँडा र सालेवा दोभाने क्षेत्र पनि सम्भावित जोखिमयुक्त सूचीमा समावेश गरिएको छ ।

वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम, अग्नि नियन्त्रण सामग्री वितरण र नियमित निगरानीलाई तीव्रता दिएको जनाएको छ । वन क्षेत्रमा जथाभावी आगो बाल्न, खरानी वा चुरोट नफाल्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

समयमै सचेतना, समन्वय र सामूहिक प्रयासमार्फत सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको कार्यालयले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.