धरानमा ९५५ केजी गाँजासहित दुई जना पक्राउ

धरानमा ९५५ केजी गाँजासहित दुई जना पक्राउ

धरान, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक भीषणबाबु राईको कमाण्डमा खटिएको टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुई वटा पिकअप गाडीमा जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा, कोल्बी नगरपालिका–८ निवासी सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नम्बरको पिकअपबाट ४९५ केजी गाँजा बरामद गरिएको छ ।

त्यसैगरी, चन्द्रागिरी नगरपालिका–८ निवासी ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नम्बरको गाडीबाट ४६० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.