भर्खरै : Sorry, your browser does not support inline SVG.

कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित

कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित

काठमाडौँ, ८ कात्तिक । नेपाली कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा १४ जना सांसद निर्वाचित भएका छन् भने १० जना पराजित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि असोज २३ गते भएको निर्वाचनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा सांसदहरूले प्रतिस्पर्धा गरेका थिए ।

पदाधिकारीतर्फ प्रतिस्पर्धा गरेका पाँच जना सांसदमध्ये प्रतिनिधिसभा सदस्य डा. मो. फिरदोश आलम मात्रै निर्वाचित भएका छन् । उनी सहमहामन्त्री (मुस्लिम) पदमा निर्वाचित भएका हुन् । उनले अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गरे ।

अन्य पदाधिकारी पदमा प्रतिस्पर्धा गरेका चार जना सांसद भने पराजित भए । खुला उपसभापति पदमा उम्मेदवारी दिएका प्रतिनिधिसभा सदस्य प्रा. डा. चन्द्रमोहन यादव पनि पराजित भए । उक्त पदका लागि भएको निर्वाचनमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य निर्वाचित भए । गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ र दीपक गिरी पनि पराजित भए ।

समावेशी उपसभापति पदमा उम्मेदवारी दिएका राष्ट्रियसभा सदस्य रञ्जित कर्ण पनि पराजित भए । उक्त पदमा उद्योगपति विनोद चौधरी निर्वाचित भए । त्यस्तै, प्रतिनिधिसभाका संसदीय दलका उपनेता अभिषेक प्रताप शाह सहमहामन्त्री (मधेसी) र सांसद जनकराज गिरी सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा पराजित भए ।

केन्द्रीय सदस्यतर्फ भने धेरै सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभाकी प्रमुख सचेतक वासना थापा महिला खुला समूहबाट सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भइन् । प्रतिनिधिसभाका सचेतक निश्कल राई, उर्मिला थपलिया (सीता), इन्जिनियर मोहन आचार्य, सन्दीप राना, नरेन्द्रकुमार केरुङ र प्रकाश सिंह कार्की पनि केन्द्रीय सदस्यमा निर्वाचित भए ।

त्यसैगरी, डा. गंगादेवी अवाल र रेनुका काउचा आदिवासी जनजाति महिला समूहबाट, रेखाकुमारी यादव मधेसी महिला समूहबाट तथा डा. प्रमिलाकुमारी गच्छदार थारू महिला समूहबाट निर्वाचित भए । राष्ट्रियसभा सदस्यद्वय धर्मेन्द्र पासवान दलित मधेसी समूहबाट र किरणबाबु श्रेष्ठ गण्डकी प्रदेश खुला समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका केही सांसद भने पराजित भए । राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटा महिला खुला समूहबाट पराजित भइन् । प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढा खुला समूह, गीता कुमारी सेन्दाङ आदिवासी जनजाति महिला समूह, मनमाया विश्वकर्मा र पवित्रा बिक दलित महिला समूह तथा कालीबहादुर सहकारी पिछडिएको क्षेत्र समूहबाट पराजित भए ।

कांग्रेसमा प्रतिनिधिसभाका ३८ र राष्ट्रियसभाका २४ सांसद छन् । तर, सबै सांसदले केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिएका थिएनन् । उम्मेदवारी नदिनेमा प्रतिनिधिसभाका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, सांसद अर्जुननरसिंह केसी, भरतबहादुर खड्का र गीता गुरुङलगायत थिए । राष्ट्रियसभाकी संसदीय दलकी नेता कमला पन्तले पनि उम्मेदवार नबन्ने घोषणा गरेकी थिइन् ।

राष्ट्रियसभाका सचेतक पदमबहादुर परियार भने तनहुँबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएका थिए । महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूह सहभागी नभएकाले राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलासहित केही सांसदले पनि महाधिवेशनमा भाग लिएका थिएनन् ।

 


Thali Mobile Pvt.Ltd.