काठमाडौँ, ८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धबारे दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । उहाँले उक्त अभिव्यक्तिले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको टिप्पणी गर्दै सरकारको आधिकारिक धारणा माग गर्नुभएको हो ।
थापाले शनिबार सामाजिक सञ्जालमार्फत नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको उल्लेख गर्नुभएको छ । विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने तर्क भएको उहाँको भनाइ छ ।
सानो समूहका केही अपवादमूलक धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गर्नु पूर्वाग्रह भएको थापाले बताउनुभएको छ । नेपालको राष्ट्रियता सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उहाँको भनाइ छ ।
भारतसँग समानता र सम्मानका आधारमा सम्बन्ध कायम गर्नुपर्ने उल्लेख गर्दै थापाले सीमा मिचिने, डुबान हुने वा नाकाबन्दीजस्ता घटनाविरुद्ध आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताउनुभएको छ ।
वाग्लेले विगतमा अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’सँग पछिल्लो अभिव्यक्तिको सम्बन्ध छ कि छैन भन्ने प्रश्नसमेत थापाले उठाउनुभएको छ । जिम्मेवार पदमा रहेका व्यक्तिले यसबारे स्पष्ट जवाफ दिनुपर्ने उहाँको माग छ । ‘के सरकारको धारणा यही हो ?’ भन्दै थापाले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गर्नुभएको छ ।
