भर्खरै : Sorry, your browser does not support inline SVG.

दशैंमा पनि शिक्षकलाई तलब नदिने पालिका विरुद्ध मन्त्री महावीर पुनको अनुसन्धान

दशैंमा पनि शिक्षकलाई तलब नदिने पालिका विरुद्ध मन्त्री महावीर पुनको अनुसन्धान

काठमाडौं, १३ असोज । दशैं, तिहार र छठजस्ता ठूला चाडपर्वको बेलामा पनि शिक्षकहरूले पालिकाबाट तलब नपाएको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले यसबारे औपचारिक अनुसन्धान सुरु गरेका छन् ।

मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले पालिकाहरुलाई शिक्षक तथा कर्मचारीको तलब उपलब्ध गराउन आवश्यक रकम पठाइसके पनि धेरै पालिकाले ढिलासुस्ती गरेका छन् र विभिन्न बहाना देखाएर तलब नखुवाएको देखिएको छ । उनले भने, ‘शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाइसकेकाे छ, तर तलब समयमै वितरण भएन । यस्तो बेथिति किन भयो भन्नेबारे अनुसन्धान गर्दैछु र यसको दीर्घकालीन समाधानका उपाय खोज्दैछु ।’

शिक्षक तथा कर्मचारीहरूले तलब नपाएको विषयमा मन्त्री पुनलाई हालसम्म फोन र इमेलमार्फत ५०० भन्दा बढी गुनासो आएको छ । तीमध्ये सबैभन्दा धेरै गुनासो मधेश प्रदेशका शिक्षक तथा कर्मचारीबाट आएको उनले बताए ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ । वर्षदिनमा एकपटक आउने दशैं, तिहार र छठ जस्ता महान चाडवाडकै समयमा पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाएर तलब नखुवाएको विषयमा म गम्भीर छु ।’

यसअघि पनि मन्त्री पुनले पालिकाहरुलाई शिक्षक र कर्मचारीले पाउनुपर्ने तलब समयमै उपलब्ध गराउन निर्देशन दिएका थिए । तर गुनासो बढ्दै गएपछि उनले प्रत्यक्ष अनुसन्धान प्रक्रिया अघि बढाएका हुन् । अब मन्त्रालयले तथ्य संकलन गरी पालिकाको कामकारबाहीप्रति आवश्यक कदम चाल्ने तयारी गरेको छ ।

मन्त्री पुनले यस घटनालाई शिक्षा क्षेत्रमै गम्भीर चुनौतीका रूपमा लिँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कडा कदम चालिने चेतावनी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.