भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अन्न उत्पादन घटेपछि तरकारीखेतीमा म्याग्दीका किसान

अन्न उत्पादन घटेपछि तरकारीखेतीमा म्याग्दीका किसान

गलेश्वर । अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक तरकारीखेती शुरू गरेका छन्। बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रूपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गरेका छन्।

त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा बढी आम्दानी लिन सफल भएका छन्। रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाउन थालेका छन्। उनका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम हुन थालेको छ। त्यसपछि अन्नबालीको साटो तरकारीखेती थालिएको हो।

“खाना स्वादिष्ट र पोषणयुक्त भए पनि लागतअनुसार उत्पादन नहुँदा गुजारा चलाउन धौधौ भएपछि वैकल्पिक खेती शुरू गरेको हुँ,” उनले भने, “मुस्किलले १२ हजार रुपैयाँ बराबरको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको छ।”

जिल्लाका किसानले अन्नबाली लगाउन छाडेपछि अन्नको बीउ पाउन कठिन छ। मलंगला गाउँपालिका–५ का किसान मनप्रसाद सापकोटाले गाउँमा गौरिया र गुडुरा धानको बीउ नपाइएको बताए। गौरिया धानमा लगातार तीन वर्षसम्म रोग लागेर उत्पादन कम भएपछि खेती गर्न छाडिएको हो । “रोग र किराको प्रकोपले सोचेअनुसार उत्पादन नहुँदा हामीले यसको खेती घटाउँदै गएका छौँ,” उनले भने, “बर्सेनि नयाँ रोगले बाली नष्ट हुन्छ। पहिलाको जस्तो उत्पादन हुँदैन।”

हिमाली क्षेत्रमा फल्ने चिनो, कागुनो, उवा, फापर, आँगा, गौरिया, गुडुरा, ताकमारे, जौ, धान, कोदो, सिमी, जुनेलो, सिलाम र जौलगायत रैथाने बाली संकटमा पर्न थालेका कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.