स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यौनजन्य दुर्व्यवहार रोक्न नयाँ आचारसंहिता जारी गरेको छ ।
मन्त्रालय र मातहतका कार्यालयसँगै तालिम, गोष्ठी, स्वास्थ्य शिविर तथा भ्रमणमा समेत आचारसंहिता लागू हुनेछ ।
शारीरिक, मौखिक, गैरमौखिक तथा प्रविधिमार्फत हुने यौनजन्य दुर्व्यवहार निषेध गरिएको छ ।
पीडित वा जोकोहीले कार्यालय प्रमुख वा मन्त्रालयमा उजुरी दिन सक्नेछन् ।
उजुरी परेको सात दिनभित्र छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्नेछ ।
काठमाडौँ, १२ मङ्सिर २०८३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय र मातहतका कार्यालय तथा स्वास्थ्य संस्थामा यौनजन्य दुर्व्यवहार रोक्न नयाँ आचारसंहिता जारी गरेको छ । मन्त्रालयले ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका कार्यालय (कार्यस्थल) मा यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी आचारसंहिता, २०८२’ जारी गर्दै कार्यस्थललाई सुरक्षित, मर्यादित र हिंसारहित बनाउन यस्तो व्यवस्था गरेको हो ।
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन, २०७१ को दफा २१ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको आचारसंहिता मन्त्रालयले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ । यसले यौनजन्य दुर्व्यवहारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ ।
आचारसंहिता मन्त्रालय र मातहतका कार्यालय परिसरमा मात्र सीमित रहने छैन । कार्य जिम्मेवारी पूरा गर्ने क्रममा कार्यस्थलबाहिर आयोजना हुने तालिम, गोष्ठी, स्वास्थ्य शिविर, अध्ययन अनुसन्धान, भ्रमण, सरकारी आवास गृह तथा स्तनपान कक्षमा समेत लागू हुनेछ ।
यसले स्थायी तथा अस्थायी कर्मचारी, सामुदायिक स्वास्थ्य कार्यकर्ता, स्वयंसेवक, प्रशिक्षार्थी, सेवाग्राही र आगन्तुक सबैले पालना गर्नुपर्ने आचरण निर्धारण गरेको छ । आचारसंहिताले इच्छाविपरीत छुने वा अँगालो मार्ने, अश्लील शब्द प्रयोग गर्ने, लैङ्गिक असंवेदनशील टिप्पणी गर्ने, एकोहोरो हेर्ने, साङ्केतिक इसारा गर्ने तथा इमेल र सामाजिक सञ्जालमार्फत अश्लील सन्देश पठाउनेजस्ता व्यवहारलाई यौनजन्य दुर्व्यवहारका रूपमा निषेध गरेको छ । तर स्वास्थ्य सेवा, उपचार, परामर्श तथा अनुसन्धानका क्रममा गरिने उचित सोधपुछलाई दुर्व्यवहार नमानिने स्पष्ट पारिएको छ ।
आचारसंहिता कार्यान्वयनका लागि कार्यालय प्रमुख, सेवा प्रदायक र सेवाग्राहीको भूमिका पनि निर्धारण गरिएको छ । कार्यालय प्रमुखले पीडितको गोपनीयता र सुरक्षा कायम राख्नुपर्ने, मनोसामाजिक तथा कानुनी परामर्शमा सहयोग गर्नुपर्ने र सम्भव भएसम्म सिसिटिभी जडान गर्नुपर्ने व्यवस्था छ । कार्यालयमा सचेतनामूलक सूचना राख्नुका साथै कार्यरत सबैले आचारसंहिता पालना गर्ने प्रतिबद्धता फाराम भर्नुपर्नेछ । उजुरी दिएको कारण पीडितमाथि प्रतिशोध लिन नपाइने र पीडितको व्यक्तिगत विवरण गोप्य राख्नुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ ।
आचारसंहिता उल्लङ्घन भएको अवस्थामा पीडित वा अन्य जोकोहीले तोकिएको गुनासो फाराममार्फत कार्यालय प्रमुख वा मन्त्रालयमा उजुरी दिन सक्नेछन् । प्राप्त उजुरीमाथि सम्बन्धित निकायले सात दिनभित्र छानबिन गरी टुङ्गो लगाउनुपर्नेछ । छानबिनबाट आचारसंहिता उल्लङ्घन भएको पुष्टि भएमा दोषी ठहरिएका सेवा प्रदायक वा सेवाग्राहीमाथि कसुरको मात्रा र प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।
