भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

हरिबोधिनी एकादशी : नारायणको दर्शनार्थ भक्तजनको घुइँचो

हरिबोधिनी एकादशी : नारायणको दर्शनार्थ भक्तजनको घुइँचो

काठमाडौँ, १५ कात्तिक। हरिबोधिनी एकादशीका अवसरमा देशभरका विभिन्न नारायण मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। राजधानी उपत्यकासहित देशका अन्य धार्मिक स्थलहरूमा विशेष मेला लागेको हाम्रा स्थानीय संवाददाताले जनाएका छन्।

काठमाडौँ उपत्यकाका चार नारायणस्थान-चाँगुनारायण (भक्तपुर), विशङ्खुनारायण (ललितपुर), शेषनारायण र इचङ्गुनारायण (काठमाडौँ) मा बिहानैदेखि दर्शनार्थीको बाक्लो भीड लागेको छ। उपत्यकाभित्रका साना–ठूला नारायण मन्दिरहरूमा पनि पूजाआजाको चहलपहल बढेको छ।

त्यसैगरी नागार्जुन नगरपालिका–७ रामकोटस्थित बद्रीनारायण धाम र तनहुँको व्यास नगरपालिका–९ मा रहेको सिद्धेश्वर राजापानी महादेव मन्दिरमा पनि एकादशी मेला लागेको छ। उपत्यकाका चार नारायणस्थानमा पुग्न नसक्ने भक्तहरूले बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चातुव्र्युह नारायण मन्दिरमा दर्शन गर्ने गर्छन्।

ती दुवै मन्दिरमा शेषशायी भगवान् नारायण विराजमान छन्, जसको दर्शनले चारै नारायण मन्दिरको दर्शन गरे बराबर फल प्राप्त हुने जनविश्वास छ। बूढानीलकण्ठको नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हर–हरि भगवान्को मूर्तिलाई विश्वकै अद्वितीय शिल्प मानिन्छ। यहाँ प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा देश–विदेशका भक्तजनको घुइँचो लाग्ने गर्दछ। मन्दिर व्यवस्थापन समितिका अनुसार आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्नेछ।

यसैगरी, दक्षिणकालीको शेषनारायण मन्दिरमा पनि दर्शनार्थीको भीड व्यवस्थापनका लागि विशेष तयारी गरिएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी र दामोदर (विष्णु) को विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन विष्णु क्षीरसागरमा शयन गर्न जाने र आजको दिन उठ्ने धार्मिक मान्यता रहेको छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिन्छ।

 


Thali Mobile Pvt.Ltd.