भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हरिबोधिनी एकादशी : नारायणको दर्शनार्थ भक्तजनको घुइँचो

हरिबोधिनी एकादशी : नारायणको दर्शनार्थ भक्तजनको घुइँचो

काठमाडौँ, १५ कात्तिक। हरिबोधिनी एकादशीका अवसरमा देशभरका विभिन्न नारायण मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। राजधानी उपत्यकासहित देशका अन्य धार्मिक स्थलहरूमा विशेष मेला लागेको हाम्रा स्थानीय संवाददाताले जनाएका छन्।

काठमाडौँ उपत्यकाका चार नारायणस्थान-चाँगुनारायण (भक्तपुर), विशङ्खुनारायण (ललितपुर), शेषनारायण र इचङ्गुनारायण (काठमाडौँ) मा बिहानैदेखि दर्शनार्थीको बाक्लो भीड लागेको छ। उपत्यकाभित्रका साना–ठूला नारायण मन्दिरहरूमा पनि पूजाआजाको चहलपहल बढेको छ।

त्यसैगरी नागार्जुन नगरपालिका–७ रामकोटस्थित बद्रीनारायण धाम र तनहुँको व्यास नगरपालिका–९ मा रहेको सिद्धेश्वर राजापानी महादेव मन्दिरमा पनि एकादशी मेला लागेको छ। उपत्यकाका चार नारायणस्थानमा पुग्न नसक्ने भक्तहरूले बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीस्थित चातुव्र्युह नारायण मन्दिरमा दर्शन गर्ने गर्छन्।

ती दुवै मन्दिरमा शेषशायी भगवान् नारायण विराजमान छन्, जसको दर्शनले चारै नारायण मन्दिरको दर्शन गरे बराबर फल प्राप्त हुने जनविश्वास छ। बूढानीलकण्ठको नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हर–हरि भगवान्को मूर्तिलाई विश्वकै अद्वितीय शिल्प मानिन्छ। यहाँ प्रत्येक वर्ष हरिबोधिनी एकादशीका अवसरमा देश–विदेशका भक्तजनको घुइँचो लाग्ने गर्दछ। मन्दिर व्यवस्थापन समितिका अनुसार आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्नेछ।

यसैगरी, दक्षिणकालीको शेषनारायण मन्दिरमा पनि दर्शनार्थीको भीड व्यवस्थापनका लागि विशेष तयारी गरिएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी र दामोदर (विष्णु) को विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइन्छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन विष्णु क्षीरसागरमा शयन गर्न जाने र आजको दिन उठ्ने धार्मिक मान्यता रहेको छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिन्छ।

 


Thali Mobile Pvt.Ltd.