भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

‘मोन्था’ चक्रवात हट्यो: भोलिदेखि देशभर घाम, मङ्गलवारदेखि फेरि बदलीको सम्भावना

‘मोन्था’ चक्रवात हट्यो: भोलिदेखि देशभर घाम, मङ्गलवारदेखि फेरि बदलीको सम्भावना

काठमाण्डौ, १५ कात्तिक । नेपालमा तीन दिनदेखिको लगातार वर्षा गराउने ‘मोन्था’ चक्रवात नेपालबाट बाहिरिएको छ। आज भने पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज वर्षा गराउने प्रणालीको असर बेलुकासम्म हट्नेछ। भोलिदेखि देशभर मौसम क्रमशः खुल्ने भए पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा भोलि पनि सामान्य वर्षा हुन सक्ने सम्भावना छ।

पछिल्लो एक घण्टामा वागमती प्रदेशका पूर्वतर्फका केही स्थानमा सामान्य वर्षा भए पनि अधिकांश ठाउँमा पानी रोकेको महाशाखाले जनाएको छ। मौसमविद्हरूका अनुसार भोलिदेखि मङ्गलवारसम्म देशका अधिकांश किसानले धान भित्र्याउन सक्ने अनुकूल अवस्था रहनेछ।

तर, अरब सागरबाट अर्को न्यून चापीय प्रणाली सक्रिय हुँदै आएकोले मङ्गलवार बेलुकादेखि फेरि पश्चिम नेपालमा बदली सुरु हुनसक्ने त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सह–प्राध्यापक तथा मौसमविद् विनोद पोख्रेलले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त प्रणाली कमजोर रहे पनि त्यसले पश्चिम नेपाल हुँदै काठमाण्डौसम्म सामान्य वर्षा गराउने सम्भावना छ। बुधवार हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेकोले त्यसअघि हिमाली क्षेत्रमा पदयात्रा नगर्न सुझाव दिइएको छ।

नेपालमा हिउँदयाममा सामान्यतया भू–मध्य सागरबाट आउने वायुले वर्षा गराउँछ। उक्त वायु इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारतको उत्तराखण्ड पार गरेर नेपालको सुदूरपश्चिमबाट प्रवेश गर्छ। यसले विशेषगरी हिमाली क्षेत्रमा हिउँ पार्ने गर्छ।

यसपटक भने भारतको मुम्बईनजिकै अरब सागरमा बनेको न्यून चापीय प्रणालीले वर्षा बोकेको बादल गुजरात हुँदै नेपाल भित्रिएको थियो। ठूलो वर्षा गराउने ‘मोन्था’ चक्रवात भने हिन्द महासागरको उत्तरपूर्वी भाग, बङ्गालको खाडीमा विकसित भएको थियो।

सामान्यतया हिउँदयाममा नेपालमा भू–मध्य सागरसँगै बेलाबेला अरब सागरमा विकसित हुने प्रणालीको असर देखिन्छ, तर बङ्गालको खाडीबाट वायु आउनु दुर्लभ हुन्छ। मनसुनमा भने बङ्गालको खाडी हुँदै वायु नेपालमा प्रवेश गरेर व्यापक वर्षा गराउँछ।

 


Thali Mobile Pvt.Ltd.