भर्खरै : Sorry, your browser does not support inline SVG.

मिथिलामा ‘जुडशीतल’ को चहलपहल शुरू

मिथिलामा ‘जुडशीतल’ को चहलपहल शुरू

महोत्तरी, चैत २८। नयाँ वर्ष २०८२ शुरू हुन केही दिन बाँकी छँदै मधेश प्रदेशका जिल्लामा ‘जुडशीतल’ पर्वको चहलपहल शुरू भएको छ ।महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा त्यसका लागि सरसामान जुटाउन थालिएको छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा ‘जुडशीतल’ पर्व मनाइने मैथिल परम्परा छ । विभिन्न परिकार खाने र ख्वाइने यो पर्वमा खाद्य सामग्रीको जोहोसँगै हिलोधुलो खेलेर रमाइलो गरिन्छ ।

आउँदो सोमवार र मङ्गलवार यो पर्व मनाइन्छ । मिथिलामा वैशाख सङ्क्रान्तिका दिनदेखि भोलिपल्टसम्म दुई दिन ‘जुडशीतल’ पर्व मनाउने चलन छ । सङ्क्रान्तिको पहिलो दिनलाई ‘सतुवाइन’ र भोलिपल्ट अर्थात् वैशाख २ गतेलाई ‘जुडशीतल’ भनिन्छ ।पहिलो दिनलाई ‘सतुवाइन’ भनिए पनि दुवै दिन ‘जुडशीतल’ पर्वकै दिन मानिन्छन् । पहिलो दिन चना, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरी खाद्यान्नको सातु तथा माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कुलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ ।

बढ्दो गर्मीमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको हो ।यसैगरी दोस्रो दिन (वैशाख–२ गते) घरपरिवारमा आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने चलन छ ।बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । पर्व नजिकिँदै गर्दा मिथिलानी आ–आफ्ना घरआँगन सरसफाइ र लिपपोतमा लागेका छन् । ‘जुडशीतल’ पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना पनि गरिन्छ ।रासस

 


Thali Mobile Pvt.Ltd.