ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल, छठअघि सञ्चालन गर्ने तयारी

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल, छठअघि सञ्चालन गर्ने तयारी

ललितपुर, ८ कात्तिक । ललितपुरको कुसुन्ती हाइटस्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल यतिबेला चर्चामा छ । निर्माण अन्तिम चरणमा पुगेको पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि, सञ्चालन तथा उद्घाटनको निश्चित मिति सार्वजनिक भएको छैन ।

ललितपुर महानगरपालिका–१३ मा निर्माण भइरहेको उक्त पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा बनाइएको हो । २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, प्राविधिक समस्या तथा निर्माण प्रक्रियामा देखिएका जटिलताका कारण काम निर्धारित समयमा पूरा हुन सकेन ।

पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ । यसले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई व्यस्त चक्रपथ वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ । चक्रपथमा पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउन र सम्भावित दुर्घटनाको जोखिम कम गर्न पुल निर्माण गरिएको हो ।

लिफ्टसहितको संरचनाका कारण यो पुलले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि कुसुन्ती तथा आसपासका क्षेत्रका पैदलयात्रीलाई सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.