कास्कीमा जेनजी आन्दोलन आगजनी-लुटपाटमा संलग्न ५६ जना पक्राउ, ३६ जना पुर्पक्षका लागि थुनामा

कास्कीमा जेनजी आन्दोलन आगजनी-लुटपाटमा संलग्न ५६ जना पक्राउ, ३६ जना पुर्पक्षका लागि थुनामा

कास्की । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा गरिएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिमाथि प्रहरीले तीव्र रूपमा कारबाही अघि बढाएको छ । कास्की प्रहरीले हालसम्म ५६ जनालाई पक्राउ गरेर अदालतमा पेस गरिसकेको जानकारी दिएको छ ।

प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकामध्ये ३६ जनामाथि उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ, भने १४ जनालाई धरौटीमा रिहा गरिएको छ । बस्नेतका अनुसार शंकास्पद मानिएका व्यक्तिलाई होइन, फोटो तथा भिडियो प्रमाणका आधारमा वास्तविक संलग्नता पुष्टि भएका व्यक्तिहरू मात्र पक्राउ गरिएको हो । उनले भने, “आन्दोलनकै कारण कसैलाई समातिएको होइन । तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएका प्रमाणित व्यक्तिलाई मात्र न्यायिक हिरासतमा राखिएको हो ।” एकजना बालकलाई बगर प्रहरी चौकीबाट हतियार लुटेको आरोपमा बालसुधार गृह पठाइएको छ ।

जिल्ला अदालत कास्कीले आइतबार भएका बहसपछि केहीलाई धरौटीमा रिहा गर्ने तथा केहीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । फरार रहेका तीन जना प्रतिवादी अदालतमा उपस्थित भई एक – एक लाख धरौटीमा रिहा भएका छन् । केही प्रतिवादी अझै अदालतमा हाजिर हुन बाँकी रहेको अदालतका सूचना अधिकारी रामबहादुर किसानले बताए । न्यायाधीशहरूको फरक – फरक इजलासबाट चलेका मुद्दामा केहीलाई थुनामा पठाइएपछि अदालत परिसरमा प्रतिवादीका परिवारजन तथा आफन्तको भीड देखिएको थियो ।

कास्कीमा भएको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा व्यापक क्षति पुगेको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार १ सय १६ वटा सरकारी कार्यालय तथा २७ वटा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुँदा करिब ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति भएको छ । सरकारीतर्फ २ अर्ब १८ करोड र निजी क्षेत्रतर्फ २ अर्ब ७३ करोड रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ । ३ सय २९ वटा सवारी साधन, होटल तथा नेताका निजी घरहरू समेत क्षतिग्रस्त बनेका छन् । अधिकांश सरकारी कार्यालय अझै पूर्ण रूपमा सञ्चालनमा फर्किन नसकेको प्रशासनले जनाएको छ ।

 

Mohotsav


Thali Mobile Pvt.Ltd.