देशहितमा सम्झौता हुँदैन : नेमकिपा सशक्त प्रतिपक्ष बन्छ-नारायणमान बिजुक्छेँ

देशहितमा सम्झौता हुँदैन : नेमकिपा सशक्त प्रतिपक्ष बन्छ-नारायणमान बिजुक्छेँ

मुख्य बुँदा

नेमकिपाको प्रतिनिधिसभा निर्वाचन घोषणापत्र २०८२ सार्वजनिक

देश र जनताको हितमा प्रखर प्रतिपक्षी भूमिका निर्वाह गर्ने प्रतिबद्धता

भ्रष्टाचारविरुद्ध कडा कानुनी व्यवस्था र सम्पत्ति राष्ट्रियकरणको माग

समाजवादी गणतन्त्र प्रचार अभियानलाई तीव्र बनाउने घोषणा

काठमाडौँ, ४ फागुन । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले आइतबार शङ्खमूल, काठमाडौँमा आयोजित विशेष समारोहबीच घोषणापत्र सार्वजनिक गर्नुभयो।

नेमकिपाले देश र जनताको हितमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने : नारायणमान बिजुक्छेँ

‘देश र जनताको निःस्वार्थ सेवा गरौँ, समाजवादी प्रचार अभियानलाई अगाडि बढाऔँ’ भन्ने उद्घोषका साथ घोषणापत्र सार्वजनिक गरिएको हो। अध्यक्ष बिजुक्छेँले निर्वाचन जनतालाई राजनीतिक र सैद्धान्तिक रूपमा सचेत र सङ्गठित गर्ने अवसर भएको उल्लेख गर्दै नेमकिपाले देश र जनताको दीर्घकालीन हितमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभयो।

संसद्ले विधेयक पारित गरी ऐन–कानुन र नीति निर्माण गर्ने उल्लेख गर्दै उहाँले पार्टीले “क्रान्तिकारी संसवाद” व्यवहारमा लागू गर्ने धारणा राख्नुभयो। प्रजातन्त्र सत्तारूढ दलहरूको मनपरीतन्त्र नभई जनताको जीवनपद्धति भएको उहाँको भनाइ थियो।

उहाँले घोषणापत्र अध्ययन नगरी अन्ध समर्थनमा मतदान नगर्न आग्रह गर्दै जनताको अमूल्य मत देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने दललाई दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले घोषणापत्रबारे जानकारी दिँदै नेमकिपाले स्थापनाकालदेखि किसान आन्दोलन, सार्वभौमिकता रक्षा आन्दोलन र साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्व गर्दै आएको दाबी गर्नुभयो।

उहाँले भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने, ठूला भ्रष्टाचारीलाई कडा सजायको व्यवस्था गर्नुपर्ने तथा जन्मका आधारमा प्राप्त नागरिकतासम्बन्धी कानुनी व्यवस्थामा संशोधन आवश्यक रहेको बताउनुभयो। दुर्गम क्षेत्रमा रोपवे, केबुलकार, सुरूङमार्ग र रेलमार्ग निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ थियो।

केन्द्रीय सदस्य अनुराधा थापामगरले मानव तस्कर, ठूला भ्रष्टाचारी र अपराधीमाथि कडा कारबाहीको माग गर्नुभयो भने केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले निर्वाचनलाई समाजवादी गणतन्त्र प्रचार अभियानका रूपमा लिनुपर्ने धारणा राख्नुभयो। नेमकिपाले यसपटक पनि संसद् र सडक दुवै स्थानमा देश र जनताको पक्षमा सङ्घर्ष जारी राख्ने प्रतिबद्धता जनाएको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.