भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

प्रतिनिधिसभा निर्वाचन: विद्यालय तीन दिन बन्द गर्ने तयारी, अन्तिम निर्णय बाँकी

प्रतिनिधिसभा निर्वाचन: विद्यालय तीन दिन बन्द गर्ने तयारी, अन्तिम निर्णय बाँकी

काठमाडौं, ४ फागुन। प्रतिनिधिसभा निर्वाचन आउन अब १८ दिन मात्रै बाँकी छ। आगामी २१ गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ। निर्वाचन तयारी तीव्र पारिएको छ भने उम्मेदवारहरू यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।

मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। अब काठमाडौं उपत्यकासहित आसपासका १४ जिल्लाको मात्र मतपत्र छाप्न बाँकी छ। आयोगले दुई दिनभित्र छपाइ सक्ने तयारी गरेको छ। दैनिक ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।

यसबीच निर्वाचनको समयमा विद्यालय कति दिन बन्द हुन्छन् भन्ने विषयमा चासो बढेको छ। यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनका बेला सरकारले ६ दिनसम्म विद्यालय बन्द गरेको थियो।

यसपटक पनि मतदान केन्द्रका रूपमा धेरैजसो सामुदायिक विद्यालय प्रयोग हुने भएकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था रहने देखिन्छ। देशभर १६५ निर्वाचन क्षेत्र र २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालय कति दिन बन्द गर्ने भन्नेबारे हालसम्म कुनै औपचारिक निर्णय नभएको जनाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार निर्वाचन आयोगको तालिका र योजनाअनुसार विद्यालय बन्द गरिनेछ।

यता निर्वाचन आयोगले भने निर्वाचनका लागि तीन दिन विद्यालय बन्द गर्ने तयारी गरेको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन दिन बन्द गर्ने योजना रहे पनि औपचारिक निर्णय भने भइसकेको छैन। यसबारे छलफलपछि अन्तिम निर्णय सार्वजनिक गरिनेछ।

निर्वाचनका लागि करिब साढे पाँच लाख जनशक्ति परिचालन गरिनेछ। आयोग, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी गरी २ लाख १३ हजार १६१ जना परिचालन हुनेछन्। सुरक्षातर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीसमेत गरी ३ लाख ३७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ।

जनशक्ति अपुग भएमा शिक्षकहरूलाई पनि निर्वाचन कार्यमा खटाउने तयारी गरिएको छ। अघिल्ला निर्वाचनहरूमा समेत शिक्षक परिचालन गरिएकाले यसपटक पनि पठनपाठन प्रभावित हुने सम्भावना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.