असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु

असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु

काठमाडौँ, ८ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि अघिल्लो वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा यसपटक विद्युत् बिक्रीबाट प्राप्त रकम बढेको हो ।

नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको थियो । उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । प्राधिकरणले भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार विद्युत् बिक्री गरेको थियो ।

बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा वास्तविक समय बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी पहिलो तीन महिनामा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । प्राधिकरणले देशभित्रको माग पूरा गरेपछि बचत हुने वर्षायामको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो । उहाँका अनुसार भारततर्फ निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये झन्डै दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो ।

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । गत शुक्रबार बेलुकादेखि निर्यात सुरु भएको प्राधिकरणले जनाएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेशतर्फ विद्युत् निर्यातका लागि स्वीकृति पाएका त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौताअन्तर्गत भारतको हरियाणा राज्यतर्फ हुँदै आएको विद्युत् निर्यात पनि आंशिक रूपमा प्रभावित भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.