भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

माटोका भाँडा बनाउने व्यवसायी समस्यामा, परम्परागत पेसा संकटमा

माटोका भाँडा बनाउने व्यवसायी समस्यामा, परम्परागत पेसा संकटमा

काठमाडाैं । पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा संकटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् ।

दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि पूर्वी नेपालको बिर्तामोड र भारतबाट माटोका विभिन्न तयारी भाँडा ल्याएर बिक्री गरिरहेको भाँडा व्यवसायी गणेश शाहले बताए । ‘पहिले धनगढीमा माटोका भाँडा बनाउने कालिगड जहाँतहीँ हुन्थे, माटो पनि आवश्यकताअनुसार सहजै उपलब्ध हुन्थ्यो । स्थानीयस्तरमा बनाइएको भाँडा बिक्री गर्न सहज पनि थियो,’ उनले भने, ‘पछिल्लो समय बाहिरबाट तयारी अवस्थामा भाँडा ल्याएर बिक्री गर्दा उपभोक्ता विश्वास पनि कम गर्ने भएकाले व्यापार घटेको छ ।’

भारतबाट ल्याउने गरेका माटोको भाँडा भन्सार तिरेर आयात गर्नुपर्ने भएकाले महँगो पनि पर्न गएको भन्दै शाहले यसरी व्यापार गर्दा मुनाफा पनि नहुने बताए । आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरूपमा प्लास्टिकका रंगीबिरंगी भाँडा सहजै पाइन थालेपछि पहिलेको तुलनामा माटोका भाँडाले बजार पाउन छोडेको धनगढीको कृष्णनगरकी व्यवसायी नीलमदेवी कलवाराले बताइन् । ‘केही वर्ष पहिले दैनिक पाँच हजारदेखि १० हजारसम्म कारोबार हुन्थ्यो, अहिले दैनिक एक हजारदेखि तीन हजारसम्मको कारोबार हुन्छ,’ उनले भने ।

लामो समयदेखि माटोका भाँडासम्बन्धी व्यवसाय गर्दै आएकी कलवाराले पछिल्लो समय बिक्री घटेसँगै व्यवसाय संकटमा पर्न थालेको गुनासो गरिन् । ‘पहिलेको तुलनामा कारोबार घटेपछि जीविकोपार्जनमा समस्या हुन थालेको छ । यो व्यवसायबाट खर्च चलाउन मुस्किल हुन थालेपछि अहिले गर्मी मौसममा गन्नाको जुस र जाडोमा अण्डा ठेला राखी बिक्री गर्न थालेकी छु,’ उनले भनिन् ।

स्थानीयस्तरमा भाँडा बनाउने माटो पाउन छोडेपछि भारतको लख्खिमपुरसहितका सहरबाट तयारी भाँडा ल्याएर बिक्री गरिरहेको कलवाराले जानकारी दिइन् । ‘पहिले माटोका भाँडा बनाउने भट्टा यहाँ थुप्रै थिए, हिजोआज माटो पाउन छोडेपछि बाहिरबाट भाँडा ल्याउदा महँगोमा बिक्री गर्नु पर्दछ,’ उनले भनिन् ।

प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडाको व्यापार घटेको धनगढीका व्यवसायी अरविनप्रसाद कलवाराले बताए । ‘पहिलेभन्दा अहिले व्यापार धेरै घटेको छ, यही अवस्था रहे यो पेसा लोप हुने जोखिम बढेको छ,’ उनले भने ।

स्थानीय सरकारले माटोका भाँडा बनाउने सीप पुस्तान्तरण गर्न र यो पेसा संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्नेमा कलवाराले जोड दिए । ‘माटोबाट निर्मित भाँडा टुटफुट बढी हुने भएकाले प्रयोगकर्ता घट्न थालेका छन् । घरघरमा सिमेन्टका गमला लगेर बिक्री गरिँदा पनि माटोका भाँडाको माग घटेको हो,’ उनले भने ।

अहिले प्रतिगाग्री दुई सयदेखि पाँच सय, प्रतिगमला एक सयदेखि दुई सय, प्रतिखुत्रुक्के ३० देखि तीन सय, प्रतिकलश १५ देखि ५० मा बिक्री भइरहेको उनले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.