भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी

राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी

मुख्य बुँदा

राउटे समुदायका १५ जना युवायुवती प्राथमिक उपचार तालिममा सहभागी

तालिम सुर्खेतमा आयोजना, रेडक्रसद्वारा प्रयोगात्मक अभ्यास

राउटे समुदायको जनसङ्ख्या १३३ मात्रै

अस्वस्थ जीवनशैलीका कारण जनसङ्ख्या घट्दो

लेकबेँसी–७ मा हाल बसोबास

आधुनिक स्वास्थ्योपचारप्रति युवाको बढ्दो चासो

परिचयपत्र, सामाजिक सुरक्षा भत्ता र नागरिकताको पहल

सुर्खेत, २३ पुष । लोपोन्मुख फिरन्ते राउटे समुदायका युवायुवतीलाई प्राथमिक उपचारसम्बन्धी ज्ञान प्रदान गर्न सुर्खेतमा तालिम आयोजना गरिएको छ। तालिममा सीमान्तकृत राउटे समुदायका आठ जना युवती र सात जना युवा गरी १५ जना सहभागी रहेका छन्।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको हाल कूल जनसङ्ख्या एक सय ३३ मात्रै रहेको छ। अस्वस्थ जीवनशैली तथा अत्यधिक जाँडरक्सी सेवनका कारण समुदायको जनसङ्ख्या घट्दै गएको जनाइएको छ।

हाल राउटे समुदाय सुर्खेतको लेकबेँसी नगरपालिका–७ अन्तर्गतको जङ्गल क्षेत्रमा बसोबास गरिरहेको छ। तालिममा सहभागी युवायुवतीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीपहरू सिकाएका छन्।

नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका सभापति रामलाल आचार्यका अनुसार तालिमपछि चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखिँदा अस्पताल लैजानुअघि प्राथमिक उपचार गर्न सक्ने क्षमता विकास हुने अपेक्षा गरिएको छ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेशको पहिचानका रूपमा रहेको राउटे समुदायको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँका अनुसार कुनै समय ‘पैसा छोए पाप लाग्छ’ भन्ने विश्वास राख्ने राउटे समुदायका युवायुवतीले आधुनिक स्वास्थ्योपचारप्रति चासो देखाउनु सकारात्मक परिवर्तनको सङ्केत हो।

कार्यक्रममा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदायलाई परिचयपत्र वितरण गर्दै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। साथै राउटे समुदायका नागरिकलाई नागरिकता प्रदान गर्न पालिकाले पहल थालेको र प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा पेश भइसकेको उहाँले बताउनुभयो।

राउटे समुदायको जीविकोपार्जन सुधारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यकारी निर्देशक हिरासिं थापाका अनुसार पछिल्लो समय राउटे युवाहरू आधुनिक चिकित्सासम्बन्धी उपचारप्रति विश्वास गर्न थालेकाले प्राथमिक उपचार तालिम सञ्चालन गरिएको हो।

परम्परागत घरेलु उपचारका कारण जटिल स्वास्थ्य समस्या देखिन थालेकाले नयाँ पुस्तालाई आधुनिक उपचार पद्धतिबारे जानकारी दिन यो तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.