भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

२८ करोडको क्षतिपछि ‘सञ्चो’ कम्पनी : पुनः सञ्चालनको सम्भावना कति ?

२८ करोडको क्षतिपछि ‘सञ्चो’ कम्पनी : पुनः सञ्चालनको सम्भावना कति ?

काठमाडौँ, २५ चैत । चैत १५ गते राजावादी समुहले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा गरेकाे आगजनीबाट करिब २८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। आगलागीले उत्पादन भवन,  प्रशासनिक भवन,  उपकरणहरू,  चारवटा गाडी,  एउटा मोटरसाइकल र प्रशोधन गरेर स्टकमा राखिएको सञ्चोसहित ठूलो परिमाणमा सामग्री नष्ट भएको बताइएकाे छ ।

क्षतिको विवरण
कम्पनीकी हालै अवकाश प्राप्त महाप्रबन्धक संगीता यादवका अनुसार आगजनीले उत्पादन भवन पूर्ण रूपमा ध्वस्त भएको छ। प्रशोधन र उत्पादनमा प्रयोग हुने सबै उपकरण, चार गाडी, एउटा मोटरसाइकल र करिब २० लाख बोतल सञ्चो नष्ट भएको छ। प्रशासनिक भवनमा पनि आंशिक क्षति पुगेको उनले बताइन् । चैत १५ गते राजावादी समूहले गरेको तोडफोड र आगजनीका कारण यो क्षति भएको बताइन् । विस्तृत मूल्याङ्कन रिपोर्ट १० दिनपछि मात्र आउने यादवले जानकारी दिइन् ।

कम्पनी बन्द भएको छैन
अवकाश प्राप्त महाप्रबन्धक यादवले कम्पनी पूर्ण रूपमा बन्द नभएको बताइन् ।उनले भनिन्  “आगजनी भएको भोलिपल्टदेखि नै प्रशासनिक भवन सरसफाइ गरेर सञ्चालनमा ल्यायौँ, बिदाको दिनमा पनि काम गर्‍यौँ।”  उनका अनुसार उत्पादन र प्रशोधन बन्द भए पनि कम्पनीको प्रशासनिक काम जारी रहेकाे छ।

सञ्चोको उत्पादन र लोकप्रियता
४३ वर्षदेखि सञ्चालित यो कम्पनीले सञ्चो, सञ्चोबाम, वाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयलसहित १० प्रकारका इसेन्सियल आयल र सात किसिमका हर्बल उत्पादन गर्दै आइरहेकाे छ। सञ्चो याे कम्पनीकाे सबैभन्दा लोकप्रिय उत्पादन हो । कम्पनीले वार्षिक ६० लाख पिस सञ्चो उत्पादन गर्ने लक्ष्य राखेको थियो भने समग्र उत्पादनबाट करिव १६ देखि २२ करोड रुपैयाँ आम्दानी गर्ने योजना बनाएको थियो । उनका अनुसार यो वर्ष सञ्चो मह र सञ्चो टिमुरको उत्पादन सुरु भइसकेकाे थियो, तर आगजनीमा ती पनि नष्ट भए ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीकाे केन्द्रीय कार्यालय काठमाडौँबाहेक सुनसरीको तरहरा, बाराको तामागढी र कैलालीको टीकापुरमा व्यावसायिक युनिटहरू छन् । बाराकाे तामागढी शाखाले दुई वर्षदेखि उत्पादन र प्रशोधन गर्दै आएको छ ।  यादव भन्छिन् “बाराकाे तामागढीबाट उत्पादन हुने भएकाले सञ्चोको अभाव हुँदैन,” । अन्य शाखाहरूले कच्चा पदार्थ संकलन र प्रशोधन गरी निर्यात पनि गर्छन् । काठमाडौँमा अटोमेटेड रिफिलर मेसिनबाट ठूलो परिमाणमा उत्पादन हुने गरेको थियो, तर अब त्यो सुविधा बन्द भएको छ । यसले समग्रमा असर गर्ने देखिन्छ ।  

रोजगारीमा प्रभाव
कम्पनीको केन्द्रीय कार्यालयमा ३८ जना कर्मचारी छन्, जसमध्ये ९० प्रतिशत महिला कर्मचारीहरू छन् । आगजनीका कारण उत्पादन ठप्प भएपछि उनीहरूलाई सरसफाइको काममा लगाइएको छ। यदि उत्पादन चाँडै सुरु नभए उनीहरूको रोजगारी गुम्ने जोखिम रहेकाे छ।

पुनः सञ्चालन सम्भव छ ?
आगजनीले अटोमेटेड मेसिनहरू नष्ट भएका छन्। मेसिनको अवस्था जाँच्न विज्ञ ल्याउनुपर्ने छ। “मेसिन चलाउन मिल्ने अवस्थामा छैनन्। म्यानुअल विधिबाट भने तत्काल उत्पादन सम्भव छ,” उनले भनिन् । पहिले पनि हातले बोतल भर्ने काम हुन्थ्यो, त्यसैलाई पुनः सुरु गर्न सकिने उनको भनाइ छ। त्यसैगरी कम्पनीका अध्यक्ष बुद्धिसागर पौडेलले पनि म्यानुअल उत्पादन वा वनस्पति विभागको ल्याब प्रयोग गरेर तत्काल काम सुरु गर्न सकिने बताए। उनले भने, “ एक हप्ताभित्र छलफल गरी सानो स्केलबाट भए पनि उत्पादन थाल्छौँ । ”  सरकारको लगानी र सरोकारवालाको ध्यानाकर्षणले कम्पनी पुनः सञ्चालन हुनेमा उनी आशावादी छन्।

“अँध्यारोपछि उज्यालो आउँछ,” यादव भन्छिन्, “सरकारले नयाँ नेतृत्व नियुक्त गर्नेछ। नयाँ ऊर्जाले कम्पनी अझ बलियो हुन्छ।” पौडेल पनि कार्ययोजना बनाएर चाँडै उत्पादन सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्छन्। क्षति ठूलो भए पनि वैकल्पिक उपाय र शाखाहरूको सहयोगले पुनः सञ्चालन सम्भव देखिन्छ।

 

 


Thali Mobile Pvt.Ltd.