भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

बुसानमा ट्रम्प-सी जिनपिङ १०० मिनेटको वार्ता: ट्रम्पले गरे सीको प्रशंसा, चीनको शेयर बजारमा ऐतिहासिक उछाल

बुसानमा ट्रम्प-सी जिनपिङ १०० मिनेटको वार्ता: ट्रम्पले गरे सीको प्रशंसा, चीनको शेयर बजारमा ऐतिहासिक उछाल

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियाको बुसानमा करिब १०० मिनेट लामो वार्ता सम्पन्न भएको छ । दुई नेताबीचको याे ६ वर्षपछि भएको पहिलो प्रत्यक्ष भेट हो ।

बैठक बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो, जहाँ दुवै नेताको व्यस्त तालिका र सुरक्षाको कारणले विशेष व्यवस्था गरिएको थियो । वार्तालाई चीन–अमेरिका सम्बन्धमा नयाँ चरणको सुरुवातको रूपमा हेरिएको छ । बैठकअघि ट्रम्पले भनेका थिए, “आजै चीनसँग व्यापार सम्झौता साइन हुन सक्छ ।” वार्ताका क्रममा उनले सी जिनपिङलाई “एक सम्मानित र महान देशका महान नेता” भन्दै प्रशंसा गरे ।

त्यसैगरी वार्तामा चीनका राष्ट्रपति सी जिनपिङले ट्रम्पको शान्ति प्रयास र संवादको नीति को प्रशंसा गरे । उनले भने, “चीन र अमेरिका धेरै विषयमा सहमत नहुन सक्छन्, तर संवाद र सहकार्य दुवै देशका लागि अपरिहार्य छन् ।” सीले थपे, “दुवै राष्ट्रले स्थायित्व र विकासको दिशामा अघि बढ्नुपर्छ । चीनको दृष्टिकोण र ट्रम्पको दृष्टिकोणबीच मेल खोज्नु नै सन्तुलित सम्बन्धको आधार हो ।”

अमेरिकातर्फबाट ट्रम्पसँग विदेशमन्त्री मार्को रुबियो, व्यापार प्रतिनिधि जेमिसन ग्रियर, अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक, चीफ अफ स्टाफ सूजी विल्स, र चीनस्थित अमेरिकी राजदूत डेभिड पर्ड्यू सहभागी थिए ।

यता चीनतर्फबाट सीका साथमा विदेशमन्त्री वाङ यी, उप प्रधानमन्त्री हे लिफेङ, उप विदेशमन्त्री मा झाओक्सू, वाणिज्यमन्त्री वाङ वेन्टाओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ सान्जी उपस्थित थिए ।

वार्ता सुरु हुनासाथ चिनियाँ बजारमा सकारात्मक प्रतिक्रिया देखियो । सांघाई कम्पोजिट इन्डेक्स ०.२ प्रतिशत बढेर ४,०२५.७० मा पुगेको छ, जुन २०१५ पछि सबैभन्दा उच्च स्तर हो । त्यस्तै, हङकङको ह्याङ सेङ इन्डेक्स पनि ०.६ प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार, वार्ताले अमेरिका–चीन व्यापार तनाव घट्ने आशा जगाएको छ, जसले लगानीकर्ताको आत्मविश्वास बढाएको हो ।

एशिया भ्रमण पूरा गरेपछि ट्रम्प एयर फोर्स वनमार्फत अमेरिका फर्किएका छन् । अब सबैको नजर यो वार्ताबाट के समझदारी भयो र त्यसले अमेरिकी–चिनियाँ सम्बन्धमा कस्तो प्रभाव पार्नेछ भन्नेमा केन्द्रित छ । (एजेन्सीहरूको सहयोगमा)

 


Thali Mobile Pvt.Ltd.