भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

जल तथा मौसम विभागको अद्यावधिक आकलनः अझै दुई महिना सरदरभन्दा कम वर्षा हुने

जल तथा मौसम विभागको अद्यावधिक आकलनः अझै दुई महिना सरदरभन्दा कम वर्षा हुने

काठमाडौँ, २४ पुष । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको अद्यावधिक जलवायु आकलनअनुसार आगामी केही महिना देशभर सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ।

विभागका अनुसार यही पुस १७ गतेदेखि फागुन १६ गतेसम्मको अवधिमा अधिकांश भूभागमा वर्षा दीर्घकालीन सरदरभन्दा कम रहने सम्भावना छ। हालसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार गत डिसेम्बर महिनामा पनि देशभर सरदरभन्दा कम वर्षा मापन गरिएको विभागले जनाएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग तथा गण्डकी प्रदेशका उत्तर–पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर तथा केही स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका मध्य भूभाग तथा कोशी प्रदेशका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।

त्यसैगरी सुदूरपश्चिमका दक्षिण–पश्चिमी भूभाग, कर्णालीका मध्य भूभाग, लुम्बिनीका उत्तरी भूभाग, गण्डकी, बागमतीका मध्य भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य तथा दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ।

देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको जलवायु आकलनमा उल्लेख छ। विभागका अनुसार यो आकलन विश्व मौसम सङ्गठन अन्तर्गतका विश्वव्यापी तथा क्षेत्रीय जलवायु सूचना उत्पादन केन्द्रहरूले तयार गरेका जलवायु प्रारुपहरूका आधारमा गरिएको हो।

साथै नेपालको हिउँद ऋतुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एलनिनो–लानिना अवस्था तथा हिन्द महासागरमा देखिने इन्डियन ओसन डिप्लोइक (IOD) को अवस्थालाई समेत मध्यनजर गरिएको छ। हाल प्रशान्त महासागर लानिनाको अवस्थामा रहेको र हिउँद ऋतुको अन्त्यसम्ममा तटस्थ अवस्थातर्फ जाने विश्वव्यापी प्रारुपहरूको आकलन रहेको विभागले जनाएको छ। त्यसैगरी हिन्द महासागरको आइओडी हाल तटस्थ अवस्थामा रहेको र हिउँदभर तटस्थ नै रहने अनुमान गरिएको छ।

जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणाली, भू–उपयोगलगायतका विषयमा निर्भर रहने भएकाले ऋतु परिवर्तनको समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने सूचना अधिकारी कायस्थले बताए।

 


Thali Mobile Pvt.Ltd.