काठमाडौँ, ६ फागुन । इरान र संयुक्त राज्य अमेरिकाबीचको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको अप्रत्यक्ष वार्ता स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न भएको छ । वार्तामा प्रारम्भिक समझदारी बनेको इरानले जनाएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले सहमतिको बाटो तय भएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विस्तृत सहमतिको मस्यौदा तयार गर्न भने केही समय लाग्नेछ । अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध हटाउने विषय र आणविक कार्यक्रमका प्राविधिक पक्षमा थप छलफलपछि मस्यौदा आदान–प्रदान गरिने र त्यसपछि तेस्रो चरणको वार्ताको मिति तय हुने जनाइएको छ । हालसम्म तेस्रो चरणको मिति भने तोकिएको छैन ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता केही हिसाबले सकारात्मक भएको बताए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेका केही विषयमा अझै स्पष्ट सहमति नभएको संकेत गरेका छन् । उनले कूटनीतिक समाधानलाई प्राथमिकता दिँदै ‘सबै विकल्प टेबुलमै रहेको’ दोहोर्याएका छन् ।
इरानका राष्ट्रपति मसोउद पेजेश्कियानले आफ्नो देशले आणविक हतियार नखोजिरहेको र अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि खुला रहेको बताएका छन् । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले वार्ताको स्वागत गर्दै कूटनीतिक पहलले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले वार्ताको परिणाम पूर्वनिर्धारित गर्न खोज्नु गलत हुने भन्दै अमेरिकाले बल प्रयोगको धम्की त्याग्नुपर्ने बताएका छन् । विश्लेषकहरूका अनुसार प्रारम्भिक सहमति सकारात्मक संकेत भए पनि आणविक समृद्धीकरण, क्षेप्यास्त्र कार्यक्रम, निरीक्षणको दायरा र प्रतिबन्ध फुकुवाजस्ता विषयमा अझै ठूलो मतभेद कायमै छ । दुबै पक्षले विस्तृत प्रस्ताव आगामी दुई हप्ताभित्र प्रस्तुत गर्ने संकेत दिएका छन् ।
यसअघि बढ्दो तनावका बीच राष्ट्रपति ट्रम्पले मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत पठाउने निर्णय गरेका थिए । अमेरिकी सैन्य उपस्थितिले इरानमाथि दबाब सिर्जना गर्दै सम्भावित द्वन्द्वको जोखिम बढाएको विश्लेषण गरिएको छ ।

