भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बिहान ११:५३ मा टिकाकाे उत्तम साइत, बडादशैँको मुख्य दिन

बिहान ११:५३ मा टिकाकाे उत्तम साइत, बडादशैँको मुख्य दिन

काठमाडौं, १६ असाेज । आज बडादशैंको मुख्य दिन, विजया दशमी। आफ्ना मान्यजनका हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै पर्व मनाइँदैछ। दशैंलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको स्मरणमा तथा देवी दुर्गाले महिषासुर दैत्यको वध गरी विजय प्राप्त गरेको सम्झनामा यो पर्व मनाइन्छ।

यस वर्ष टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार साइतमा नभ्याए पनि दशमीको दिन बिहानदेखि बेलुकीसम्म जुनसुकै समयमा टीका लगाउन सकिन्छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार, विजयादशमी आफैंमा शुभ दिन भएकाले सर्वसाधारणलाई साइत खोज्नु नपर्ने भए पनि राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने परम्परा छ। घटस्थापनाका दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाइन्छ।

आज नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा थाप्न सक्ने व्यवस्था छ। आज बिहान ८:३३ मा देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ। दशैँको टीका लगाउँदा लगाउनेले पूर्व फर्कनु, लगाइदिनेले पश्चिम फर्कनु उत्तम मानिन्छ।

त्रेतायुगमा भगवान् रामले आजकै दिन असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले यो दिनलाई विजयको प्रतीकका रूपमा मानिन्छ। यस दिन गुरु पुरोहित, बा–आमा, हजुरबा–हजुरआमा, मान्यजन र ठूलाबडाबाट टीका, जमरा र प्रसाद थापी यश, ऐश्वर्य, बल, दीर्घायु र ज्ञान प्राप्त होस् भन्ने आशीर्वाद लिइन्छ। पुरुषलाई टीका लगाउँदा द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो दीर्घायु, भगवान् रामको जस्तो शत्रु नाश, वायुको जस्तो गति, कर्णको जस्तो दानशीलता, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति होस् भनी मन्त्र उच्चारण गरिन्छ।

महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर “जयन्ती मङ्गला काली…” मन्त्र उच्चारण गर्दै देवीको आशीर्वाद प्रदान गरिन्छ। नेपालका धेरै भागमा कोजाग्रत पूर्णिमासम्म टीका–जमरा थाप्ने परम्परा छ भने केही स्थानमा आज मात्र देवीको प्रसादस्वरुप टीका–जमरा लगाइन्छ।

 


Thali Mobile Pvt.Ltd.