भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या

कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या

कपिलवस्तु, । लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् । सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर सख्खर उद्योगले पाएका छन् । सख्खर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसान सरोकारवाला गुहार्न थालेका छन् । उखु बेच्ने यो समयमा सरकारले समर्थन मूल्यसमेत तोक्न सकेको छैन । सरकारले मूल्य तोक्न नसक्दा किसानलाई उखु बेच्न झनै समस्या भएको छ । सरकारले उखुको मूल्य तोक्न नसकेको र सख्खर उद्योगले मनपरी मूल्य लिइरहेको कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरी बताउनुहुन्छ । जिल्लामा रहेका ७५ सख्खर उद्योगले मनपरी ढङ्गबाट उखुको मूल्य दिएको सङ्घका अध्यक्ष चौधरीले बताउनुभयो ।

“उखु खेतीबाटै जीविकोपार्जन गर्दै आएका किसान मिल विस्थापित भएपछि समस्यामा परेका छन”, उहाँले भन्नुभयो, “किसानको गुनासो सुन्ने निकाय कहाँ छ रु सुगर मिल नहुनु र सख्खर उद्योगले मनपरी मूल्य तोक्दा उखु किसान विस्थापित हुने अवस्था सिर्जना भएको छ ।” सरकारलाई उखुको मूल्य प्रतिक्विन्टल रु सात सय पाँच तोक्न माग गरेको र त्यो मागको सुनुवाइ अहिलेसम्म नभएको अध्यक्ष चौधरी बताउनुहुन्छ । “उखुको मूल्य निर्धारणका लागि कृषि मन्त्रालय पुगेका थियौँ, सरकारले यो विषयमा कुनै निर्णय दिएन”, उहाँले भन्नुभयो । जिल्लाका उखु किसानले रु साढे तीन सयदेखि चार सय पचाससम्ममा बिक्री गर्दै आएका हुन् । शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन सख्खर उद्योगले प्रति क्वीन्टल रु चार सय नब्बेमा उखु खरिद गरिरहेको छ ।

उखु बिक्री गर्न बजारको समस्या भएपछि केही किसानले सख्खर उद्योगमा भेलि बनाउन दिएका छन् भने कतिपय आफैले सख्खर उद्योग स्थापना गरी भेलि बनाउन थालेका छन् । सरकारले मूल्य नतोक्दा उखु बेच्न समस्या भएको किसान रामप्रकाश चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला चिनी मिल थियो र बेच्न सजिलो थियो, अहिले उखु बिक्री नै हुँदैन कि भन्ने डरले जति पैसा दिए पनि सख्खर मिललाई दिन बाध्य छौँ ।” जिल्लाको पश्चिम–दक्षिण क्षेत्रमा सुक्खा क्षेत्र रहेको र अधिकांश किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् । जिल्लाको कृष्णनगर, महाराजगञ्ज र शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिकामा व्यावसायिक उखु खेती गरिन्छ । करोडौँको करोबार गर्ने सख्खर उद्योग स्थानीय तहमा दर्ता छैनन् । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेका सख्खर उद्योग स्थानीय तहको कार्यालयमा दर्ता नभएको पाइएको छ ।

स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र रहेको उद्योगलाई व्यवस्थापन गर्ने जिम्मा भए पनि शिवराज नगरपालिकामा रहेका सख्खर उद्योगको सङ्ख्यासमेत नगरपालिकालाई जानकारी छैन । “नगरभित्र कति उद्योग दर्ता भएका छन् हेर्नुपर्ने हुन्छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेयले भन्नुभयो’, “अहिले एकीन तथ्याङ्क भन्न सकिँदैन ।” विजयनगर गाउँपालिकाले पालिकाभित्र सञ्चालित सबै उद्योगलाई दर्ताको लागि पत्र पठाइसकेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । यस्तै जिल्लाका अन्य स्थानीय तहमासमेत सख्खर उद्योग दर्ता नभएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले उखु किसानले कम मूल्यमा खरिद गरेका सख्खर उद्योगका बारेमा जानकारी दिए कारबाही गर्ने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सरकारले तोकेअनुसार कुनै पनि उद्योगले उखुको मूल्य किसानलाई दिनुपर्ने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.