भर्खरै : Sorry, your browser does not support inline SVG.

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयनमा

लुम्बिनी, २९ चैत । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो ।लुम्बिनी प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतहरूलाई आधारभूत मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर कार्ययोजना कार्यान्वयन गरिएको हो । मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए ।

“नीति तथा कार्यक्रममा समावेश गरेर यो अभियानलाई अघि बढाएका छौँ । सबै उमेर समूहमा मानसिक स्वास्थ्यका समस्या देखिएका छन्”, उनले भने, “मानसिक र सामाजिक स्वास्थ्य सुदृढीकरणका लागि रोमिङ नर्स सेवा विस्तार गरेका छौँ । मनोसामाजिक परामर्शदाता परिचालन गर्ने, बालविवाह न्यूनीकरण र प्रजनन स्वास्थ्य सेवा प्रभावकारी बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ ।”स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले मानसिक स्वास्थ्य क्षेत्रलाई अझ सुधार गरेर अघि बढाउन प्राथमिकता राखिएको बताउनुभयो ।
प्राध्यापक डा विद्यादेव शर्माले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै नीति तथा बजेट निर्माण गर्न सरकारलाई आग्रह गरे ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीले मानसिक स्वास्थ्य सेवा पहुँचयुक्त र स्वास्थ्यकर्मी सेवा प्रवाहमा चुस्त हुनुपर्नेमा जोड दिनुभयो ।लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा सिएमसी(नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको पाँचवर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।सिएमसी-नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्वास्थ्य केन्द्रहरूमा आवश्यक सेवा प्रवाह गरिने जानकारी दिए ।

उनले विद्यालय, समुदाय र कार्यस्थलमा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन, मानसिक रोगको रोकथाम तथा सचेतना अभिवृद्धि, मानसिक स्वास्थ्यलाई अन्य सामान्य स्वास्थ्य सेवासँग जोड्ने, आत्महत्या रोकथामका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताए ।प्रमुख गैरेले यसले जोखिममा परेका समूहको पहिचान र सहयोगमा मद्दत पुर्याउनुका साथै लागुऔषध नियन्त्रण र पुनःस्थापना केन्द्रहरूको सुदृढीकरण पनि रणनीतिमा समेटिएको जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.