देशभर ५५ जनामा डेंगु संक्रमण पुष्टि
कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित
बाग्मती, गण्डकी, मधेश र सुदूरपश्चिममा पनि संक्रमित भेटिए
लामखुट्टे नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह
असार–असोजसम्म संक्रमण बढ्ने स्वास्थ्यकर्मीको चेतावनी
काठमाडौँ, ८ असार । देशभर डेंगु संक्रमण फैलिने क्रम जारी रहेको छ। पछिल्लो तथ्याङ्कअनुसार गत जनवरीदेखि हालसम्म देशका विभिन्न प्रदेशमा गरी ५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसपटक कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएका छन्। कोशी प्रदेशमा १७ जना र लुम्बिनी प्रदेशमा १५ जना संक्रमित भेटिएका छन्।
यसैगरी बाग्मती प्रदेश (काठमाडौं उपत्यका सहित) मा १० जना, गण्डकी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ३ जनामा संक्रमण पुष्टि भएको छ।
किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले डेंगुबाट बच्न लामखुट्टे प्रजननस्थल नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले घरवरपर पानी जम्न नदिन, गमला, कुलर तथा भाँडाको पानी हप्तामा एकपटक फेर्न, र पानी जम्मा हुने स्थान छोप्न आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्रालयले पनि लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुल प्रयोग गर्ने, झ्यालढोकामा जाली राख्ने र पानी जम्ने स्थान सफा राख्न सुझाव दिएको छ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि जुलाईदेखि सेप्टेम्बरसम्म डेंगु संक्रमण उच्च हुने र त्यसपछि क्रमशः घट्ने स्वास्थ्यकर्मीहरूको अनुमान छ।
नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु देखिएको थियो। त्यसयता यो रोग क्रमशः फैलिँदै हरेक वर्ष बर्खायाममा जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा देखा पर्दै आएको छ।
