काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले सर्वाधिक १५ स्वर्ण जितेको छ । नेपालले रजत पदक जित्दै दिनको शुरुवात गरेपनि सर्वाधिक स्वर्ण दिलाएका तेक्वान्दो र करातेको खेलहरु सोमबारबाटै शुरु भएकोले नेपालले पहिलो दिन धेरै स्वर्ण आफनो पक्षमा पार्न सफल भएको हो ।
तेक्वान्दो र करातेमा नेपालले समान ७ स्वर्ण जित्दा ट्रायथलनमा १ स्वर्ण जित्यो । कराँतेकी चन्चला दनुवारको रजत पदकबाट दिनको शुरुवात गरेको नेपालले अन्तिममा तेक्वान्दोको पुम्सेतर्फ टिम इभेन्टमा स्वर्ण जितेको हो ।
कराँतेको महिला एकल कातातर्फ चन्चला दनुवार फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भइन् । यस स्पर्धामा पाकिस्तानकी साइदाले स्वर्ण जितिन् र उनी १३औं सागमा पिहलो स्वर्ण जित्ने खेलाडी बनिन्।
सोमबार दिनैभर सातदोबाटोबाट नेपालको लागि खुशीको खबर आइरहँदा कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २(२ स्वर्ण जिते । सन् १९९९ मा नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले कराँतेको एकल कातामा स्वर्ण जितेका थिए ।
यसैगरी पोखरामा सोमबारै देखि शुरु भएको ट्रायथलनमा पनि नेपालले पहिलो दिन एक स्वर्ण जित्यो । २०१६ मा भारतमा भएको १२ औं संस्करणबाट समावेश भएको ट्रायथलनमा नेपालले पहिलो स्वर्ण जितेको हो । महिलातर्फ सोनी गुरुङले नेपाललाई स्वर्ण दिलाएकी हुन् । यस्तै नेपालले ट्रायथलनमा एक कास्य समेत जित्यो ।
