कन्चनपुर । सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट कोरोना आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाउन समस्या भएको छ ।
जनस्वास्थ्य प्रयोगशाला धनगढीले १४ रगत नमूना काठमाडौं पठाइसकेको जानकारी दिदै लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आएको बताएको छ ।
कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट सात, बाजुराबाट चार र कञ्चनपुरबाट तीन वटा रगत नमूना प्रदेशमा पठाइएको कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले बताए ।
काठमाडौं पठाएको दुई नमूनाको रिपोर्ट आउन बाँकी रहेको ओझाले बताए । लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भएको भन्दै समस्या निराकरणको प्रयास जारीरहेको उनको भनाई छ ।
भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन जना बिरामी आइसोलेसन कक्षमा राखिएको छ ।

