आर्थिक वर्ष सकिनै लाग्दा पछिल्लो समय विकास निर्माणले तिब्रता पाएको छ । कोरोना महामारीले सबै क्षेत्रमा समस्या पैदा गरेको छ । लकडाउनले जनजीवनमा असर त पारेको छ नै, यसले विकास निर्माण लगायतका काममा झन् समस्या गरिदिएको छ । यहि बीचमा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ मा पुगेर विकास निर्माणसंग सम्वन्धित रहेर वडाध्यक्ष किरण थापासंग कुराकानी गरेका छौं : सम्पादक
कैलाश खबरमा यहाँलाई स्वागत छ ।
धन्यवाद
अहिले वडा नंं. ८ मा कसरी विकास निर्माण गरिरहनु भएको छ ?
साविक सिपाडोल गाविस हाल सूर्यविनाय नगरपालिका वडा नं. ८ मा १२ ठाउँमा विकास निर्माणका पुर्वाधारहरु निर्माण भैरहेका छन् । ग्रावेल, वाल, पिच, बाटो विस्तार, पुल निर्माण, बाटो निर्माण लगायतका कार्य गरिरहेका छौं । उपत्यका नगर विकास प्राधिकरणले भक्तपुरलाई छुट्याएको २० करोड बजेट हाम्रो वडामा परेको पाँच करोड बराबरको काम सात दिनमा सम्पन्न गर्दैछौं । लकडाउनमा पनि जनता, जनप्रतिनिधि र टोलसुधार समितिसंगै भौतिक दुरी कायम गरि विकास निर्माणका काम सम्पन्न गरिरहेका छौं । जनताको साथ र विश्वासले हाम्रो वडामात्र हाेइन नगरपालिका नै अघि बढिरहेको छ ।
सात दिनमा पाँच करोड, के के काम हुदैछन् ?
डाँगाचाबाट झयालेपाटीको बाटो ग्रावेल, भटराई टोलबाट चकुपुल सम्मजाने १२ मिटरको बाटो चौडा गरेर रिटेनिङ्ग वाल लगाउदै छौं । चकुपुलबाट नाकान्डोल, तिपुलीपाटी, दार्जिलिङ्ग हाईटलगायतका धेरै ठाउँमा बाटो बनाउदै छौं । जनता संगसंगै क्वालिटि र क्वान्टेटि मिलाएर काम गरिरहेका छौं । पचासौं टिप वालुवा आइरहेको छ । गुणस्तरीय बनाउन लागिपरेका छौं ।
आर्थिक वर्षको अन्तमा बजेट सकाउने काम भयो भन्छन् नि ?
असारे बजेट भनेर हामीले काम गरेका छैनौं । जनताले काममा पूर्ण जिम्मेवारीका साथ गरिरहेका छन् । बजेटको दुरुपयोग गर्न दिनेमा कदापी हुदैन । जनप्रतिनिधि नै खटिएर लागेकोले नगरपालिका पूर्ण अनुगमन गर्न सक्छ । स्टमेट अनुसार नै कामलाई अगाडि बढाएका छौं । हाम्रो वडाले क्वालीटीमा कम्परमाई गर्दैन । स्टमेट अनुसार नै काम गरिरहेको छ ।
कतिपय ठाउँमा बजेट खर्चहुन नसकेर बजेट फ्रिज भएको छ नि यहाँ को अवस्था के छ ?
जनप्रतिनिधिको निष्क्रियता, विवादका कारण कतिपय ठाउँमा बजेट फ्रिज भएका पनि छन् । तर हाम्रोमा कुनै विवाद पनि भएको छैन । जनताको आवाश्यक्ता र नगरपालिकाको मापदण्ड अनुसार नै काम भएका छन् । वडामा चैत्र मसान्तमै ९० प्रतिशत काम सम्पन्न भैसकेका छन् । नगरबाट छुटिएका योजना यस वडामा पूर्णरुपमा सम्पन्न हुन थालेका छन् । नगरपालिकाको हकमा भन्ने हो भने पाँच लाख माथिका योजना टेन्डर मार्फत गरिएका छन् ।
त्यसैले ९५ प्रतिशत काम यस वडामा सम्पन्न भैसकेका छन् । जनता र जनप्रतिनिधिको समन्वयमा काम भएकाले यहाँ कुनै विवादित काम भएका छैनन् । १० मिटरको बाटौ १२ मिटरबनाएर काम गरिरहेका छौं । २० वर्ष सम्म जनप्रतिनिधि नहुदा समस्या थियो । अहिले जनता निकै खुसी भएका छन् । विकासका पूर्वाधार निर्माणमा जनताको स्वतःस्फूर्त जागरणले सवै कुराको मेल खाएको छ ।
जनप्रतिनिधि भएको पनि साढे तीन वर्ष वित्दै छ, यो अवधिमा के के गर्नु भयो ?
यो अवधिमा विकासका पूर्वाधार निर्माण ग¥यौं । यो साढे तीन वर्षको अवधि वितेको थाहै भएन । खानेपानी कै सन्दर्भमा भन्नु पर्दा १३ सय घरलाई खानेपानी वितरण गर्दैछौं ।सिपाडोल, डोलेश्वर वृहत खानेपानी योजना लागु छ । ९ सय बढी धारा वितरण भएका छन् । ६ सय धारा वितरण गर्न बाँकी छ त्यो पुरा गर्दैछौं । घरको डिपिसी स्वीकृति लिन आउनेलाई त्यहि बेला खानेपानी वितरणको कार्य गर्दैछौं । ३ लाख लिटरका ठूला खानेपानी ट्यांकी बनेका छन् । डोलेश्वर जाने बाटोमा १ करोड ५४ लाखको पक्की पुल बनेको छ ।
यो वर्ष १ करोड ४८ लाखमा चकु खोलामा पुल बन्दै छ । ६ मिटरको चुनदेवी जानेबाटो बन्दै छ । थुप्रै काम भएका छन् । तीन वटा ठूला पुल बन्दै छन् । आदर्शबाट वडा कार्यालयको १२ मिटरको बाटो वन्दै छ । भटराई टोल, डाङाचा झयालीपाटी बाटो बन्दै छ । म निर्वाचित भएर आउने वित्तिकै मेरो पहिलो काम सूर्यविनायक जगाती अरनिको राजमार्गको ८२ ट्रयाक खोल्ने काम भयो । राजमार्ग अकुपाई गरेर बसेकाबाट छुटकारा दिलाईयो । सूर्यविनायक साँगाका पुराना रुख काट्ने काम भयो । घ्याम्पे डाँडा आशापुरीको ६ किलोमिटरको बाटो बन्दै छ । शान्ति निकेतन माविलाई चार रोपनी जग्गा दिएर ८ कोठे भवन समेत बनेर पढ्ने बातावरण भएको छ ।
कोरोना माहामारी (covid–19)ले काममा कतिको असर गरेको छ ?
यसले त सुरु सुरुमा के हो के हो ? भन्ने भएको थियो । बीस दिन जति यस्तै भ्रममा नै वित्यो । विस्तारै सबै काममा असर गरेकोले दुरी कायम गरि घर बनाउन सहायोग गरियो । लकडाउन अवधी भर विकास निर्माणका कार्य सम्पन्न ग¥यौं । कोरोना भाइरसले सूर्यविनायकलाई असर गरेको छैन भन्दा पनि हुन्छ ।
अबका योजनाहरु के के बनाउनु भएको छ ?
सातौं नगरसभाबाट हामीले शिक्षा र स्वास्थ्यमा फोकस गरेका छौं । महिला विकासका कार्यक्रम पनि अघि सारेका छौं । भौतिक पूर्वाधार लाई अलि पछि धकेलेका छौं । सामाजिक विकास समितिको अध्यक्षको नाताले पनि यहाँ रहेका विद्यालयबाट गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर लागि परेका छौं । विद्यालय व्यवस्थापन समिति अहिले जनप्रतिनिधि नै हुने भएकाले त्यहाँका समस्या समाधानमा पनि केन्द्रीत भएका छौं ।
करोड बढि रकम स्कुलका भौतिक संरचना निर्माणमा लाग्यौं । सस्थागत विद्यालयलाई पनि त्यहि किसिमले अगाडि बढाएका छौं । सबै स्वास्थ्य सस्थामा ल्यावको व्यवस्था मिलाएका छौं । नगरपालिकाले दुईवटा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सेवा दिएको छ ।
अन्तमा के भन्न हुन्छ ?
कोभिड–१९ ले सवैक्षेत्रमा असर पारेको छ । लकडाउन अलि खुकुलो भएकाले पनि सामाजिक दुरी कायम गरेर विकास निर्माणका काम अगाडि बढाऔं । जनचेतनाका कार्यक्रम पनि अगाढि बढाऔं । भाइरसबाट नआत्तियौं । वाहिरबाट आउनेलाई अनिवार्य क्वारेन्टीनमा राखौं । जनप्रतिनिधिलाई पनि जनचेतनाको आवश्यक छ । कोभिडबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं ।
समय दिनु भयो त्यसका लागि यहाँलाई धन्यबाद ।
मेरो विचार जनस्तरसम्म पुर्याउने अवसर दिनु भयो त्यसकालागि तपाई र कैलाश खबर परिवारलाई विशेष धन्यबाद ।
३ साउन २०७७
