नेपालको राजनीतिले पछिल्लो सात दशकमा अनेकौं उतार–चढाव भोगेको छ । प्रजातन्त्र, बहुदल, निरंकुशता, जनआन्दोलन, माओवादी जनयुद्ध र गणतन्त्र वा लोकतन्त्र । यी सबै ऐतिहासिक घुम्तीहरूको अनुभव हामीसँग छ । तर यतिबेला मुलुकको राजनीतिक अवस्था अझै पनि अस्थिर, अविश्वासपूर्ण र निराशाजनक बनेको अवस्था छ । सडकमा हिँड्दा हास् वा चोकचोकका चिया पसलहरुमा सबैतिर सुनिने आवाज एउटै हुन्छ हो, “पुराना नेताले देश बिगारे, अब नयाँ पुस्ता वा युवा नेतृत्वमा आउनुपर्छ ।” यो भावनाले नेपाली राजनीतिमा “युवा नेतृत्व” को मागलाई केन्द्रमा ल्याइदिएको छ । सबै तिरको बहस बनेको छ । तर यहाँ एउटा मूल प्रश्न के छ भने, के केवल उमेरले मात्र नेतृत्वको योग्यतामा निर्णायक भूमिका खेल्छ त ? के नेतृत्व पाउनु मात्रै परिवर्तनको ग्यारेन्टी हो ? के युवाहरूले राजनीति र समाजप्रतिको जिम्मेवारी बुझेर नै नेतृत्वमा आउँछन् ?
उल्लेखित सबै प्रश्नहरूको गहिरो विश्लेषण गर्दा मात्रै हामी पाउँछौं, नेपालमा राजनीति, समाज र नेतृत्वको वास्तविक समस्या “कसले” नेतृत्व गर्छ भन्ने भन्दा पनि “कस्तो सोच, आचरण र प्रणाली” बाट नेतृत्व चुनिनुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । अब विस्तारमा बुझौं ।
राजनीति भनेको के हो ?
राजनीति कुनै दलमा सदस्यता हुनु होइन । मात्रै सत्ताको कुर्सीमा बस्ने खेल पनि राजनीति होइन । राजनीति समाजलाई दिशानिर्देश गर्ने एउटा वैज्ञानिक र नैतिक प्रक्रिया वा प्रर्णाली हो । पश्चिमी दार्शनिक अरिस्टोटलले भनेका थिए – “मानव एक सामाजिक वा राजनीतिक प्राणी हो ।” यसको अर्थ हो राजनीति बिना समाजको संगठन, परिर्वतन सम्भव हुँदैन ।
नेपालमा भने राजनीति प्रायः सत्ता–सङ्घर्ष, व्यक्तिगत स्वार्थ र दलाल–पूँजीको चक्रमा सीमित भएको छ । यसले नेपाली जनतामा राजनीति फोहोरी खेलको रुपमा चित्रित भएको छ । नेपालका नेताहरूको प्राथमिकता “पद” मा मात्रै सिमित हुन् पुगेको छ । उनीहरुमा जनसेवाको भावना छैन् । चुनाबी घोषणा–पत्रमा सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्यका मीठा सपना बेचिन्छन्, तर कार्यान्वयनमा पहुँचवाला वर्गलाई मात्र फाइदा पुग्छ । यसरी राजनीति आफ्नो वास्तविक उद्देश्यबाट टाढा जाँदा जनतामा राजनीतिक प्रणालीप्रति नै विश्वास हराउँदै गएको अवस्था छ ।
युवा नेतृत्वको बहस
पछिल्लो केहि दशकबाट नेपालमा बारम्बार युवा नेतृत्वको बहस भइरहेको छ । देशमा युवाको संख्यात्मक शक्ति अत्यन्त ठूलो छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार करिब ४० प्रतिशत जनसंख्या १६–४० वर्ष उमेर समूहमा पर्छ । यसले देखाउँछ कि युवाबिना मुलुकको भविष्य सोच्नै सकिँदैन । यही कारणले “युवा नेतृत्व” को माग बढिरहेको हो । जनताले पुराना नेताबाट निराश भएर नयाँ पुस्तामा आशा राखेका हुन् ्। स्थानीय तहमा केही युवाले सफल काम गरेर जनताको विश्वास जितेका पनि छन् । केही स्वतन्त्र उम्मेदवारले चुनाव जितेर पुराना दललाई चुनौतीसमेत दिएका छन् ।
तर यहाँ केहि सावधानी जरुरी छ । किनकि केवल उमेर कम भएको आधारमा नेतृत्व दिएर मात्र परिणाम आउने छैन । नेतृत्व पाउने युवामा जिम्मेवारी, नैतिकता र समाजसेवाको दृष्टिकोण नभए उनीहरू पनि पुरानै गल्ती दोहार्याइरहेछन् ।
भ्रष्ट्राचार र युवाको संलग्नता
धेरैको बुझाइमा भ्रष्ट्राचार पुराना नेताको मात्र समस्या हो । तर तथ्याङ्कले अर्कै कुरा देखाइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (ऋक्ष्ब्ब्) का पछिल्ला प्रतिवेदनहरूमा ३० – ४० वर्ष उमेर समूहका सरकारी कर्मचारी र जनप्रतिनिधिहरू पनि भ्रष्ट्राचारमा संलग्न देखिएका छन् ।
यसको अर्थ हो, भ्रष्ट्राचार उमेरसँग सम्बन्धित होइन, मूल्य र आचरणसँग सम्बन्धित छ । यदि युवाले पनि राजनीति अवसर र सम्पत्ति भन्ने सोच बोके भने उनीहरूले पाएको नेतृत्वले समाजलाई भलो गर्दैन, बरु देश र समाजलाई अझै बिर्गानेछ । त्यसैले, युवा नेतृत्व भन्नासाथ “कसलाई ?” भन्ने प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ ।
कस्ता युवालाई नेतृत्व दिने ?
१. नैतिकतामा अडिग युवाः
नेतृत्वको पहिलो आधार नै इमानदारी हो । इमान्दार नेतृत्वले मात्रै पैसाको पछि नलागी समाजलाई प्राथमिकता दिन सक्छ, त्यस्तो युवाले मात्र जिम्मेवार नेतृत्व गर्न सक्छ । जब नेताले व्यक्तिगत फाइदाभन्दा राष्ट्र, समाजलाई अगाडि राख्छ, तब मात्रै सार्वजनिक विश्वास जित्न सकिन्छ ।
२. शिक्षित र सचेत युवाः
युवामा शिक्षा केवल डिग्रीसम्म सीमित हुनु हुँदैन । युवामा आलोचनात्मक सोच, नीति बनाउन सक्ने क्षमता र भविष्य देख्ने दृष्टि पनि हुनुपर्छ । सचेत युवा नेतृत्वमा आए भने उनले केवल नारा दिएर होइन, ठोस कार्ययोजना बनाएर समाजलाई रुपान्तरण गर्न सक्दछन् ।
३. सामाजिक सेवामा संलग्न युवाः
समाजसँग नजिकको सम्बन्ध बिना नेतृत्व अधुरो हुन्छ । जसले समुदायमा काम गरेको छ, गरिबको पीडा, बेरोजगारको समस्या, किसानको दुःख, महिलाको आवाज सुनेको छ, त्यस्तो युवा नेतृत्वमा पुग्दा नीतिहरू जीवन्त र जनमुखी बन्न सक्छन् ।
४. समावेशी सोच भएका युवाः
नेतृत्व भनेको केवल बहुमतको लागि होइन, सम्पूर्ण समाजको लागि हो । महिला, दलित, जनजाति, मधेशी, अपाङ्गता भएका व्यक्तिहरू, अल्पसंख्यक समुदाय सबैलाई समान अवसर र सम्मान दिन सक्ने युवा मात्र सशक्त नेतृत्वकर्ता हुन्छ ।
५. वैचारिक दृष्टिले स्पष्ट युवाः
छोटो समयको फाइदाभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिन सक्ने युवामात्र सही नेता बन्न सक्छ । राष्ट्रको भविष्यबारे ठोस दृष्टि, नीति र रणनीति भएका युवाले मात्र स्थिर र प्रगतिशील समाज बनाउन सक्छन् ।
नेतृत्वभन्दा अघि जिम्मेवारी
युवा नेतृत्वको कुरा गर्दा प्रायः पद पाउनु मुख्य मानिन्छ । तर नेतृत्वभन्दा पहिले “जिम्मेवारी बोध” हुनु अपरिहार्य छ । यदि युवाले समाज, राष्ट्र र नागरिकप्रतिको दायित्व बुझ्दैनन् भने उनीहरूको नेतृत्व हानिकारक हुन सक्छ । नेपालमा अहिले धेरै युवाले राजनीति अवसर, सम्पत्ति र पहुँच भन्ने बुझाइ राखेका छन् । यो मानसिकता भत्काउन नसकेसम्म परिवर्तन सम्भव छैन ।
यसका लागि के गर्न सकिन्छ ?
– विद्यालयदेखि विश्वविद्यालयसम्म सामाजिक अध्ययन मात्र होइन, “नागरिक शिक्षा” र “जिम्मेवारीको अभ्यास” अनिवार्य हुनुपर्छ ।
– युवालाई सामुदायिक सेवा, स्वयंसेवामूलक काम र सामाजिक परियोजनामा संलग्न गराउनुपर्छ ।
– राजनीतिक दलहरूले युवालाई नारा चिच्याउने मात्र होइन, नीतिगत बहस र अभ्यासमा सहभागी गराउनुपर्छ ।
– जबसम्म युवाले समाजप्रतिको दायित्व बोध गर्दैनन्, नेतृत्व पाएको अर्थ नै हुँदैन ।
पार्टी संरचनाको समस्या
नेपालका राजनीतिक दलहरूको प्रमुख कमजोरी नेतृत्वमा मात्र नभई संगठनात्मक संरचनामा छ ।
– केन्द्रीकृत निर्णयः अधिकांश निर्णय शीर्ष नेताले मात्रै गर्छन् ।
– अनुशासनहीनताः आचरणमा कमजोरी हुँदा पनि कार्यवाही हुँदैन ।
– स्वार्थ समूहको दबाबः पार्टी नीति भन्दा पहुँचवाला समूहको प्रभाव बढी हुन्छ ।
– पारदर्शिताको कमीः बजेट, योजना र निर्णय प्रक्रियामा सदस्य वा जनतालाई जानकारी दिइँदैन ।
यदि यस्तो पार्टी संरचना सुधार भएन भने नयाँ युवा नेता पनि त्यही ढाँचामा समाहित भई पुरानै समस्या दोहोरिनेछ ।
समाजमा युवाको भूमिका
राजनीतिक नेतृत्व पाउनु भनेको केवल निर्वाचन जित्नु होइन । समाजमा जिम्मेवार नागरिक बन्नु नै नेतृत्वको आधार हो । युवा किसानले आधुनिक प्रविधि प्रयोग गरेर कृषि सुधार गर्न सक्छ । युवा उद्यमीले रोजगारी सिर्जना गर्न सक्छ । युवा शिक्षकले शिक्षा प्रणालीलाई परिमार्जन गर्न सक्छ । युवा पत्रकारले सत्य बोल्न सक्छ । युवा स्वास्थ्यकर्मीले समाजमा चेतना फैलाउन सक्छ । यी सबै काम नेतृत्वकै रूप हुन् । केवल संसद वा मन्त्रालयमा पुग्नुपर्ने छैन ।
अन्तर्राष्ट्रिय तुलना
भारतमा पनि युवाको नेतृत्वबारे बहस धेरै हुन्छ । तर केवल उमेर कम भएकै कारणले राजनीति सफा भएको छैन । युवा नेताहरू पनि वंशवाद र भ्रष्ट्राचारमा संलग्न छन् । युरोपका कतिपय मुलुकमा भने युवाले पार्टीभित्रै नयाँ मूल्य र पारदर्शी अभ्यास ल्याएका छन् । जर्मनीकी अङ्गेला मर्केलले आफ्नो युवा कालमै पार्टीभित्र जिम्मेवारी लिएर इमानदारीका आधारमा नेतृत्वमा पुगेकी थिइन् । नेपालले पनि यस्तै अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न आवश्यक छ । केवल उमेर होइन, आचरण र दृष्टि महत्त्वपूर्ण हुन्छ ।
सुधारका उपाय
१. राजनीतिक शिक्षा अनिवार्य बनाउने,
२. दलभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्र,
३. युवालाई नीतिगत बहसमा संलग्न गराउने,
४. भ्रष्ट्राचारमा शून्य सहिष्णुता,
५. समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने,
६. सामुदायिक सेवामा संलग्नता अनिवार्य गर्ने,
निष्कर्ष
नेपालमा नेतृत्वको संकट केवल पुराना नेतामा मात्र होइन, प्रणालीगत कमजोरीमा पनि छ । त्यसैले समाधान भनेको-
यदि युवाले इमानदार आचरण, ज्ञान र समाजप्रतिको जिम्मेवारी बोके भने मात्र नेपालमा नयाँ युगको राजनीति सुरु हुन्छ । नभए, केवल अनुहार बदल्दा पनि राजनीति पुरानै ढाँचामा फसिरहनेछ । राजनीतिमा अब “कसलाई नेतृत्व दिने ?” भन्दा पनि “कस्तो सोच र मूल्य बोकेकालाई नेतृत्व दिने ?” भन्ने गहिरो प्रश्नको जवाफ दिनुपर्ने समय आएको छ ।

