नेपालमा ठुला–ठुला राजनीतिक परिवर्तन भए पनि जनताको जीवन स्तरमा कुनै परिवर्तन हुन सकेको छैन । यसको मुख्य कारण नेपालको शिक्षा नीति एक हो । अहिलेको डिजिटल प्रविधिको युगमा अरु विकसित र विकाशोन्मुख मुलुकले विकास र आर्थिक क्षेत्रमा जसरी प्रगति गरेका छन् । त्यो हिसाबले हेर्ने हो भने नेपाल निकै पछाडि परेको स्पष्ट छ ।
नेपालको शिक्षा नीतिले प्राविधिक जनशक्ति उत्पादन गर्ने नीति लिनु पर्ने थियोे तर त्यस्तो गर्न सकेको छैन । नेपालबाट आर्थिक तथा प्राविधिक जनशक्ति विदेशीने मात्रै होईन उतै भविष्य खोजिरहेको छ । नेपालको युवा जनशक्ति विदेशीने प्रति राज्यको बागडोर समातेकाहरु कसैको पनि ध्यान जान सकेको छैन् । दैनिक नेपालको अर्थतन्त्रका साथै श्रमशील जनशक्ति बाहिर जाने हो भने भविष्यमा नेपालले आर्थिक संकट भोग्न पर्ने तीतो यथार्थता हाम्रो सामु छ ।
वास्तविक सत्य र यथार्थ के हो भने, राज्यले प्राविधिक जनशक्ति उत्पादनमा प्रतिबद्धता कहिल्यै गर्न सकेन । प्रविधिमैत्री शिक्षाको विकास र प्राविधिक जनशक्ति उत्पादनमा राज्यले जति लगानी गर्नु पर्ने हो त्यति गर्न सकेको छैन् । विकसित मुलुकबाट ल्याईएका सामाग्रीहरु पनि प्रयोगमा सामान्य खराबी हुँदा समेत कबाडीको रुपमा थन्क्याउनु परेको छ ।
यी त घर तथा कार्यालयमा प्रयोग हुने केही सामग्रीको मात्र कुरा भयो तर मोटर गाडीको समस्या त झनै कहाली लाग्दो छ । हरेक मोटर गाडी उत्पादन गर्ने कम्पनीले नयाँ–नयाँ प्रविधिको प्रयोग गरी विकास गरेका (सेन्सर) जडान मोटरहरु नेपाली बजारमा त ल्याएका छन् । तर ती गाडी बनाउने दक्ष प्राविधिक नहुदा लाखौं, करोडौं मूल्य पर्ने गाडी कबाडी बनेर थन्किएका छन् ।
प्रयोग विहिन अवस्थामा थन्किएका छन् । सानो सानो कुरामा राज्यको ध्यान नहुनुको परिणाम नेपालको ठुलो धनराशी विदेशीएको छ । उपभोक्ताहरुले प्रयोग गर्ने सामाग्री उत्पादन गर्न त राज्यले सकेन तर ती सामाग्री मर्मत संभार गर्ने दक्ष प्राविधिकहरु उत्पादन गर्न नसक्नु अन्तराष्ट्रिय जगतमै लाजमर्दो कुरा हो ।
राज्यको नीति स्पष्ट नदेखिएको अवस्थामा यस क्षेत्रमा लगानीको वातावरण बनाउने काम राज्यले गर्न सकेको छैन । राज्यले लगानी बढाउनु त परको कुरा हो । तर लगानी गर्ने वातावरण पनि सिर्जना गर्न सकेको छैन । देशमा नै युवालाई रोजगारी सिर्जना गराउने नेपालको शैक्षिक प्रणाली हुनु पर्ने भन्दा पनि विदेशी भुमिका लागि सस्तो ज्यामी उत्पादन गर्ने थलोका रुपमा शैक्षिक सस्था देखिएका छन् ।
रोजगारीको अभावले नेपालबाट विदेशीने युवाको संख्या प्रतिदिन बढ्दो छ । नेपालको शैक्षिक क्षेत्र प्रविधि मैत्री नहुँदा युवा र देशको अर्थतन्त्र विदेशी तिर पलायन भइरहेको छ । यस्ता साना कुरालाई राज्यले व्यवस्थापन गर्न नसक्ने हो भने समृद्ध नेपाल, सुःखी नेपाली कसरी होला ? अनि आफूलाई कम्युनिस्ट सरकार भन्न रुचाउने नेतृत्वले यस्तो कुरामा ध्यान नदिई कुर्सी बचाउने खेल खेल्नुले यस विषयमा ध्यान कहिले जाला ?
माथि उल्लेख गरे जस्तो नयाँ टेक्नोलोजी प्रयोग भएका मोटर गाडि, टिभी, मोबाइल, रेफ्रिजेटरलगाएका समाग्री मर्मत गर्ने जनशक्ति उत्पादन गर्ने हो भने रोजगारी पनि आफ्नै देशमा र ठुलो अर्थतन्त्र विदेश जानबाट रोकिने स्पष्ट छ । सरकार र शासक दलको ध्यान त्यतातिर जानसकेको छैन । सम्भावनाका धेरै विकल्पहरु हुदा हुदै पनि सबल र सक्षम तथा प्रभावकारी नेतृत्व नभए कै कारण रोजगारीका क्षेत्र अस्तव्यस्त बनिरहेका छन् ।
कम्युनिष्ट सरकारमा पनि रोजगारी दिन आफ्नै नाता-गोता, इष्ट-मित्र र आफन्त गुहार्ने प्रवृति हावी हुनुले नेपालको सौभाग्य कि दुभाग्य ? सबैकाे सोचनीय विषय छ । अहिले नेपाली युवाका अगाडि पासपोर्ट बनाएर विदेश जानू नै रोजगारीको एक मात्र विकल्प बनेकाे छ । अझ रोचक कुरा त के पनि छ भने सस्तो ज्यामी, मजदुर विदेश पठाउने काममा तिनै शाषक दलका कार्यकर्ता नै मेनपावर कम्पनीका एजेन्ट छन् ।
एउटा कुरा नेपालमा नै रोजगारीको अवसर स्थापित गर्न प्राविधिक शिक्षाका साथै स्थानीय स्तरमै उत्पादन भएका वस्तुको राम्रो बजार व्यवस्थापन तथा परम्परागत सीपको विकाश र सीप सिकाइका परम्परागत तरिकाहरूबाट रोजगारीको क्षेत्रमा प्रभावकारी काम गर्न सक्ने हो भने नेपालमा नै निकै ठुलो सम्भावना छ ।
यस क्षेत्रको राम्रो विकास गर्न सकिन्छ भन्ने कुरालाई आत्मसात गर्ने इच्छाशक्ति सरकार र सरकारको नेतृत्व तथा स्थानीय सरकारको ध्यान जाने हो र पहलकद्मी लिने हो भने नेपालमा नै सुन फलाउन सकिने छ । १२ घण्टा विदेशी भूमिमा रगत, पसिना बगाउने युवा शक्तिलाई नेपालमा नै केहि गर्न उत्साहित गराउने हो भने देश विकास गर्न अवश्यै सकिने छ । यस विषयमा राज्यको र सरकार संचालकको ध्यान जान अति आवश्यक छ ।
श्याम नेपाली (हिमाल)
