भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो

इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो

काठमाडौं, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको जनाएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल १९४ रुपैयाँ तोकिएको छ। त्यस्तै, तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासमा पनि मूल्य घटेर आएको थियो। सोही आधारमा उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरिएको हो।

यससँगै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर २ हजार ६० रुपैयाँ कायम भएको छ। यसअघि १४.२ किलोग्राम क्षमताको एक सिलिन्डर ग्यासको मूल्य २ हजार १६० रुपैयाँ थियो।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य अब प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १ हजार ५६६ अमेरिकी डलर निर्धारण गरिएको निगमले जनाएको छ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने ‘ब्रेकइभन पोइन्ट’ अर्थात् नाफा–नोक्सानी नहुने स्तरमा मूल्य निर्धारण गरिएको छ। यसअनुसार पोखरामा प्रतिकिलोलिटर १ हजार १०० अमेरिकी डलर तथा भैरहवामा १ हजार ८५ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.