भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

 

भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा जुटेका हुन् ।

विशेषगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका किसान व्यावसायिक रूपमा अकबरे खुर्सानीखेती विस्तार गर्न सक्रिय भएका हुन् । किसानहरूले बारीमा मल्चिङ प्रविधि प्रयोग गरी खुर्सानीखेती गर्न थालेका छन् । यस प्रविधिले बिरुवाको वृद्धि राम्रो हुने, झारपात कम उम्रने र गोडमेल गर्न सजिलो हुने भएकाले किसानहरूले यसको प्रयोग बढाउँदै लगेका छन् ।

भोजपुर नगरपालिका–५ का किसान कमला थापाका अनुसार अहिले बोखिम क्षेत्रका किसान खुर्सानीखेतीका लागि जमिन तयारी गर्ने, मल्चिङ प्लास्टिक बिछ्याउने र बेर्ना सार्ने काममा व्यस्त छन् । अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले किसानहरूले विगत केही वर्षदेखि यसलाई व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।

यहाँ सडक पहुँच विस्तार भएसँगै उत्पादन भएको खुर्सानी बजारसम्म पुर्याउन सहज भएको छ । यही कारणले पनि हरेक वर्ष व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको किसानहरूको भनाइ छ ।

भोजपुरमा विशेषगरी पौवादुङमा गाउँपालिकामा अकबरे खुर्सानीको बढी खेती हुने गरेको छ । यसबाहेक भोजपुर नगरपालिका, अरुण गाउँपालिका र षडानन्द नगरपालिकाका किसानले पनि व्यावसायिक रूपमा खुर्सानीखेती गर्दै आएका छन् ।

टेम्केमैयुङ गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा समेत सीमित मात्रामा खुर्सानीखेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत आर्थिक वर्ष जिल्लामा करिब ६०९ हेक्टर क्षेत्रफलमा खुर्सानीखेती गरिएको थियो । पछिल्लो समय अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा व्यावसायिक रूपमा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या र खेती क्षेत्र दुवै बढ्दो क्रममा रहेको कार्यालयले जनाएको छ । रासस