छठको उल्लास बढ्दै, पूजामा झन्डै ७२ प्रकारका कृषिउपजको प्रयोग

छठको उल्लास बढ्दै, पूजामा झन्डै ७२ प्रकारका कृषिउपजको प्रयोग

महोत्तरी । आस्था, विश्वास अनि सद्भावको पर्व छठको महिमा बढ्दै गएको छ । मधेस, पहाड, हिमाल हुँदै सात समुद्रपारी पुगेको छ । जताततै छठको रौनक छ। पोखरी, नदी किनार, इनार जस्ता जलाशयका किनारा बेहुली झैं सिंगारिएका छन् । अस्ताउँदो सूर्यलाई अर्ध दिई सुरु हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुन्छ। यसपटक बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्ध दिइनेछ।

शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिइनेछ। पूर्वराष्ट्रपति डा रामवरण यादव भन्छन्, ‘छठले नेपालीजन, मन र राष्ट्रियतालाई एकताबद्ध बनाउन मद्दत गरेको छ।’ पर्वहरूले देशको गौरव गान गर्ने गरेको उनको भनाइ छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्वका विधिहरू सुरु हुन्छन् । नहाइखाई, खरना, सझिया घाट, पारन छठका मुख्य विधि हुन्। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा छठ मनाउने गरिन्छ।

तराईको साझा साँस्कृतिक धरोहरको रूपमा छठ पर्वलाई लिइन्छ। छठ पर्व एक, महत्व अनेकौ छन् । छठ पर्वको वैभव विशाल छ । यो पर्वको महिमा बढ्दै छ । यसले सांस्कृतिक रूपमा विशिष्ट स्थान ओगटेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रज्ञासभा सदस्य एवं संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि संस्कृति मानव जीवन पद्धति भएको बताउँछन् । कृषि उत्पादन, सामाजिक रहनसहन र सभ्यताका पक्षलाई एकैसाथ छठले प्रतिविम्बित गर्ने गरेको संस्कृतिविद् प्रेमर्षि बताउँछन् ।

मानव र प्रकृतिबीचको सम्बन्धलाई जोड्ने सेतु हो, छठ पर्व। मानव र प्रकृतिबीच हराउँदै र बिलाउँदै गएको सम्बन्धले जलवायु संकट बढ्दै छ । मानव समाज प्रकृतिको सामिप्यमा रहन चाहन्छ । तर, यसको संरक्षणमा चुकिरहेको छ । छठले किसानको परिश्रमलाई सम्मान गर्छ । कृषिउपजलाई प्रसादका रूपमा स्वीकार गरेको छ । महोत्तरीको गौशालाका मठमन्दिर तथा लोक पर्वका संरक्षक बासुदेव महतोका अनुसार छठपूजामा झन्डै ७२ प्रकारका कृषिउपजको प्रयोग गरिन्छ ।

गबडी धान सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर ९मिठ्ठा०, कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गर्छ । छठ पर्वले नेपालको कृषि पहिचानलाई जगेर्ना गरेको छ। केही छठ घाटमा सूर्य भगवान्को मूर्ति निर्माण गरी व्रतालुले सूर्य नमस्कार गर्छन् । व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन् । छठ व्रतमा सबैभन्दा कष्ट, कठिनाइ, दौडधुप, श्रमशक्ति र महत्वको हिसाबले कार्तिक शुक्ल षष्ठीको दिनै हुन्छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामसाथ मनाइने निकै चर्चित पर्व हो छठ।

Mohotsav


Thali Mobile Pvt.Ltd.