काठमाडौं । सत्तासमीकरण नयाँ बनाएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले भारत भ्रमणको निम्ता पाएका छैनन् । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारततर्फ हुने प्रचलन छ । तर यसपल्ट भने उनले पछ्याउन चाहेर पनि असम्भव देखिएको छ । फलस्वरुप प्रधानमन्त्री ओलीले प्रतीकात्मक चीन यात्रा गर्ने भएका हुन् ।
अर्को महिना हुने चीन भ्रमण रोचक हुने भएको छ । ओलीले यो निर्णय गराउन काँग्रेस सभापति शेरबहादुर देउवा सहितको संयन्त्रमा खोजी गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा डिसेम्बरमा सम्माननीय प्रधानमन्त्री ओलीको मित्रराष्ट्र चीन भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने संयन्त्रको निर्णयमा उल्लेख छ ।
ओलीले चीन जाने साइत निकाल्नुअघि दक्षिणको संकेत र सन्देश कुर्न सम्म कुरे । भारतसँग कतिपय असमझदारीका बीच ओलीलाई दक्षिणी छिमेकीसँग सम्बन्ध नयाँ शिराबाट उठ्ने देखिन्छ । संविधान निर्माण, नाकाबन्दीकाल हुँदै नयाँ नक्सा जारी गर्दै संविधान संशोधनसम्मका परिघटनामा उत्कर्षमा पुगेको ओली–मोदी तिक्तता कायमै छ ।
ओलीको विशेष दूतका रुपमा आरजु देउवा राणाले २ भदौमा नयाँदिल्ली गएर मोदी लगायत शीर्षस्थ राजनीतिक पंक्तिलाई भेटिसकेकी थिइन् । भावी प्रधानमन्त्रीकी पत्नी र कांग्रेसभित्र प्रभाव बढाउँदै गरेकी नेतृ दिल्लीमा गएर गरेको कसरत परिणामुखि देखिएन ।

