भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन |

पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी

पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी

मुख्य  बुँदा

पूर्वमन्त्री मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगी आरोपमा पक्राउ ।

गुलाम गौसको जाहेरीअनुसार १३ लाख ७० हजार ७५० रुपैयाँ लिएको आरोप ।

आमा बिरामी भएको भन्दै खल्ती एप, बैंक र नगदमार्फत रकम लिएको दाबी ।

अन्य व्यक्तिसँग पनि लाखौँ रुपैयाँ ठगी गरेको आरोपबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका यादवलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सिरहा, ११ मंसिर । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी आरोपमा पक्राउ परेका छन् । पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका छोरा करिब २५ वर्षीय सन्तुलनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको हो । उनी मिर्चैया नगरपालिका–६ का बासिन्दा हुन् ।

प्रहरीका अनुसार सन्तुलनले सोही वडाका अली भन्ने गुलाम गौससँग आमा बिरामी भएको समस्या देखाउँदै पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ लिएको भन्दै जाहेरी परेको थियो । पीडितले खल्ती एप, बैंकमार्फत रकम पठाउनुका साथै नगदसमेत दिएको जाहेरीमा उल्लेख छ ।

पीडितले पटक–पटक रकम फिर्ता माग्दा यादवले आजभोलि भन्दै आश्वासन दिने गरे पनि रकम फिर्ता नगरेको आरोप छ । त्यसपछि गुलाम गौसले प्रहरीमा उजुरी दिएका थिए । यादवले अन्य व्यक्तिसँग पनि लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार उनलाई पाँच दिनअघि नै मिर्चैया प्रहरीले पक्राउ गरेको भए पनि पक्राउसम्बन्धी विवरण आफूलाई बिहीबार मात्रै प्राप्त भएको थियो ।

सूचना अधिकारी पालले एक जना व्यक्तिको जाहेरीबाहेक अन्य व्यक्तिबाट समेत ठगी भएको आरोप रहेको जानकारी दिए । प्रहरीले यादवविरुद्ध ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच, पक्राउबारे सार्वजनिक गर्न राजनीतिक दबाब परेको र पूर्वमन्त्री मातृका प्रसाद यादवले नातिलाई छुटाउन दबाब दिएको स्रोतको दाबी छ । यद्यपि, यसबारे पूर्वमन्त्री यादवको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.