भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

दैलेख पुर्‍याइयो पेट्रोलियम पदार्थ उत्खनन् गर्ने उपकरण

दैलेख पुर्‍याइयो पेट्रोलियम पदार्थ उत्खनन् गर्ने उपकरण

दैलेख । दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् ।

पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्ता हुँदै ल्याइएका उपकरण दैलेख पुग्नासाथ चौबिसै घण्टा काम अगाडि बढाइने बताइएको छ । ठूला ट्रकहरुका लागि भने कर्णाली राजमार्गको केही खण्ड र मध्यपहाडी सडकसम्म जोड्ने खण्डमा मोड नपुगेका कारण कर्णाली राजमार्गमै रोकिएका छन् । रोकिएका ट्रक पास गर्न सडकको मोड व्यवस्थापन गर्ने कार्य तीव्र पारिएको छ ।

भारतको रुपैडिया नाकाबाट करिब एक सय ५० बढी ट्रक दैलेखका लागि हिँडिसकेको जनाइएको छ । अगाडि आएका सामान अनलोड गर्दै धमाधम जडानको काम सुरु गरिएको छ । सुरक्षा व्यवस्थालगायतका अन्य कामका बारेमा दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले आयोजनास्थलको अनुगमन गरे ।

कामले तीव्रता लिएको र तोकिएकै समयमा कामसक्नेगरी सबै सुरक्षा व्यवस्थाका काम सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी भुसालले बताए । स्थानीयले जग्गा प्रदान गर्ने बेलादेखि नै रोजगारी दिनुपर्ने, समस्या परेका घरहरुलाई थप सहयोग गर्नुपर्नेलगायतका माग सम्बोधनको चरणमा रहेको र पेट्रोलियम पदार्थको प्रशोधन दैलेखमै हुनुपर्ने दैलेखका बासिन्दाको माग रहेको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र थापाले जानकारी दिए ।

आइतबारदेखि नै स्थानीय ११ युवा रोजगारी पाएसँगै काममा लागेका छन् । भैरवी–१ जलजलेका स्थानीय जनक थापासहित ११ जना काममा लागेका छन् । आफूहरुले स्थानीयस्तरमै रोजगारी पाए भारत नजाने थापाले बताए । नेपाल सरकार र चीन सरकारसँग भएको ‘जिटुजी’ सम्झौता अनुसार सुरु गरिएको पेट्रोलियम अन्वेषणको नतिजा सकारात्मक आए नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताए ।

अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिन मुनिसम्म ‘ड्रिलिङ’ गरिनेछ । ड्रिलिङपश्चात् पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्नेबित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.