भर्खरै : Sorry, your browser does not support inline SVG.
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट |

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो

काठमाडौँ, १२ मंसिर । दूध उत्पादनमा लाग्ने खर्च बढ्दै गएको भन्दै किसानले दूधको मूल्य समायोजन गरी प्रतिलिटर ८० रुपैयाँ कायम गर्न माग गरेका छन् । दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढे पनि दूधको मूल्य लामो समयदेखि यथावत् रहँदा आम्दानी घट्दै गएको किसानको गुनासो छ ।

कास्कीको सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन गरी किसानले दूधको गुणस्तरका आधारमा प्रतिलिटर ६८ देखि ७१ रुपैयाँसम्म मात्र पाइरहेको जनाएको छ । उक्त मूल्यले उत्पादन लागत र किसानको श्रमको उचित प्रतिफल दिन नसकेको सहकारीको भनाइ छ ।

सहकारीका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर दूध उत्पादन तथा सङ्कलन भइरहेको छ । निजी फार्म तथा डेरीबाट भने दैनिक झण्डै ७० हजार लिटर दूध उत्पादन र बिक्रीवितरण हुँदै आएको छ । अध्यक्ष बरालले दूध उत्पादन किसानको जीविकोपार्जनमा मात्र सीमित नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग समेत जोडिएको विषय भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था कायम रहे किसान पेसाबाटै विस्थापित हुन सक्ने जोखिम रहेको किसान प्रतिनिधिहरूको भनाइ छ । माछापुच्छ्रे गाउँपालिका–४ का किसान कृष्णप्रसाद अधिकारीले बजारमा अन्य वस्तुको मूल्य बढिरहे पनि दूधको मूल्य तीन वर्षदेखि यथावत् रहेको बताए ।

दूधको मूल्य बढाउनुपर्ने माग केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले पनि लामो समयदेखि सरकारसमक्ष राख्दै आएको छ । किसानले उत्पादन लागत नउठेको गुनासो गरिरहँदा उपभोक्ताले भने बजारमा दूध महँगो मूल्यमा किन्नुपरेको अवस्था रहेको छ ।किसानले दूधको मूल्य समायोजन गर्दा उत्पादन लागत, किसानको श्रम र उपभोक्ताको क्रयशक्तिलाई समेत ध्यान दिनुपर्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.