काठमाडौं, २९ फागुन । अबदेखि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ। नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७ दशमलव १ किलो एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको जनाएको छ।
निगमका अनुसार नियमित रूपमा मागअनुसार एलपी ग्यासको आयात तथा वितरण भइरहेको भए पनि पछिल्ला दुईदेखि तीन महिनायता ग्यासको माग अस्वाभाविक रूपमा बढेको छ। साथै मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परेको निगमले जनाएको छ।
ग्यास आपूर्ति व्यवस्थापन गर्न निगमले सीमित परिमाणमा मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो। निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आवश्यक परिमाणमा मात्रै खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ। यसका साथै खाना पकाउने ग्यासको सट्टा सम्भव भएसम्म बिजुलीको प्रयोग बढाउन पनि अनुरोध गरिएको छ।
निगमले मासिक एक सिलिन्डर ग्यास खपत हुने अवस्थामा अनावश्यक रूपमा थप सिलिन्डर नभर्न र ग्यास भण्डारण नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ।