मुख्य बुँद्दा

संयुक्त राष्ट्रसङ्घले गाजामा अनिकाल औपचारिक घोषणा

करिब पाँच लाख मानिस ठूलो भोकमरीको जोखिममा

इजरायलले अनिकाल घोषणा सही नभएको र ‘निहित स्वार्थ’ रहेको टिप्पणी

पाँच वर्षमुनिका ३०% बालबालिका कुपोषित, दैनिक मृत्यु दर उल्लेखनीय

महासचिव गुटेर्रेसले युद्धविराम र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी, ७ भाद्र । संयुक्त राष्ट्रसङ्घले गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलोपटक आएको यस अनिकालले करिब पाँच लाख मानिसलाई ठूलो भोकमरीको सङ्कटमा पुर्‍याएको बताइएको छ ।

राष्ट्रसङ्घका उच्च अधिकारीहरूले प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप लगाएका छन् । तर इजरायलले गाजामा गरिएको अनिकाल घोषणा सही नभएको र ‘निहित स्वार्थ’ रहेको टिप्पणी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि अनिकाल घोषणाको निन्दा गरेका छन् ।

अनिकालको आँकलन संयुक्त राष्ट्रसङ्घले जिम्मेवारी दिएको इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ (आईपीसी) ले गरेको हो । यस अनुसार, गाजामा करिब २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकालको अवस्था आएको देखिएको छ ।

गाजामा पाँच वर्षमुनिका करिब ३० प्रतिशत बालबालिका कुपोषित छन् भने प्रत्येक १० हजार मानिसमध्ये कम्तीमा दुई जनाको दैनिक भोकमरी वा कुपोषण र रोगका कारण मृत्यु हुने आँकलन गरिएको छ ।

इजरायलले हमासविरुद्ध निरन्तर आक्रमण गर्दै आएको र त्यसको प्रभावमा गाजामा महिनौँदेखि मानवीय अवस्था बिग्रँदै आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा तत्काल युद्धविराम, हमासले बन्धक बनाएका सबैको रिहाइ र पूर्ण मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ ।